धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मीको अभाव भएपछि चार महिनादेखि बर्थिङ सेन्टर बन्द छ । प्रसूतिसेवा बन्द भएपछि स्थानीय गर्भवति महिलाहरूलाई समस्या भएको छ ।
संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा बाट वञ्चित नगरिने उल्लेख छ तर व्यवहारमा राज्यले यो सेवा प्रवाह गर्न सकेको देखिँदैन ।
स्वास्थ्य केन्द्रका इञ्चार्ज नवनीत रौनियारका अनुसार एकजना स्टाफ नर्स, तीनजना अनमीको दरबन्दी रहेकोमा उनीहरूको असारमा सरूवा भएपछि सो स्थानमा अन्य कर्मचारी आएका छैनन् । जसले गर्दा गर्भवति महिलाहरूलाई अप्रत्यक्ष असर पर्ने गरेको छ ।
धोबिनी गाउँपालिका–२ की ३२ वर्षीया अमरावती देवीले अन्य ठाउँमा सेवा लिन जानुपर्दा आर्थिक भार पर्ने, सवारीसाधनको असुविधा र समय धेरै लाग्ने गरेकोे बताउनु भयो ।
धोबिनी गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सञ्जय यादवले आफूले गाउँपालिकाको बोर्ड बैठकमार्फत माथिल्लो निकायमा पहल गर्ने बताउनु भयो ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुरेश साहले मङ्सिर भित्र स्वास्थ्य विभागले दरबन्दी अनुसार कर्मचारी नपठाए आफूले करारमा कर्मचारी राखेर भएपनि सेवा सुचारू गर्ने आश्वासन दिनु भयो ।