मानव अधिकारको कुरा गर्दै गर्दा संस्कृति पनि सँगै जोडिएर आउने भएकोले अधिकारसँगै संस्कृतिलाई पनि संरक्षण गर्नुपर्ने गण्डकी प्रदेशका सांसद विनोद केसीले बताउनुभएको छ ।
उक्त कुरा म्याग्दी निर्वाचन क्षेत्रका सांसद केसीले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा भएको मानव अधिकार समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो ।
सांसद केसीले नेपालमा भएको बहुसंस्कृतिक समाज रहेको र त्यो समाज भित्र चलि आएको संस्कृृतिलाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो–‘नेपालको संविधानले नै नागरिकलाई अधिकार सम्पन्न बनाएको र त्यसलाई कार्यान्वयन गर्ने कार्यमा केही समस्या रहेको हुन सक्छ ।’ मानव अधिकारको विषयमा आफूले आफ्नो तर्फबाट पहलका लागि कुनै कसर बाँकी नराख्ने केसीको भनाइ थियो ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जरिबानाबाट राज्यका लागि धेरै राजश्व उठ्नु समस्या रहेको बताउनुभयो ।
प्रजिअ ढकालले भन्नुभयो–‘राज्यमा कुनै समस्या भएन र समाजमा गलत काम भएन भने जरिबाना तिराउनै पर्दैन ।’
जिल्ला प्रहरी कार्यलय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले प्रहरी नियन्त्रणमा लिएपछि नागरिकको अधिकारको उच्च सम्मान गरिने बताउँदै विगतमा प्रहरीले गिरफ्तार गरे यातना दिन्छ भन्ने जुन मानसिकता थियो सबैले त्यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रहरीले नियन्त्रणमा लिएपछि नागरिकको मानव अधिकारको विषयमा प्रहरीले गम्भीर भएर विचार गर्ने बताउनुभएको थियो ।


