विशेषज्ञ डक्टर नहुँदा जिल्ला अस्पताल डोल्पामा दुई वर्षयता शल्यक्रियाको सेवा अवरूद्ध भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ डाक्टर र शल्यक्रिया गर्ने चिकित्सक नपठाएपछि शल्यक्रिया सेवा सञ्चालन हुन नसकेको हो ।
अस्पतालमा शल्यक्रिया नभएपछि सामान्य शल्यक्रिया गराउनुपर्ने बिरामीहरू जिल्ला बाहिर महङ्गो खर्चमा उपचार गराउन बाध्य भएका छन् ।
जिल्ला अस्पताल, डोल्पामा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान, जुम्लाले दुईवर्ष देखि विशेषज्ञ डक्टर र सर्जन नपठाउँदा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिष्ठानले विशेषज्ञ डक्टर र सर्जन नपठाएपछि जनशक्तिको अभावमा शल्यक्रिया सेवा नै बन्द गरिएको जिल्ला अस्पताल डोल्पा दुनैका डक्टर सिजन रावलले बताउनुभयो ।
अस्पतालका लागि एक जना विशेषज्ञ डाक्टर, सर्जन र शल्यक्रिया फाँटकै नर्ससहित अन्य दर्जन कर्मचारी समेतको सेवा दिने सम्झौता प्रतिष्ठानले विसं २०७३ सालमा सरकारसँग गरेको भएपनि सम्झौता अनुसारको सेवा नदिएपछि डोल्पाका बासिन्दा सामान्य अप्रेशन र उपचारबाट वञ्चित हुनुपरेको डक्टर रावलले बताउनु भयो ।
विशेषज्ञ डक्टर सहित सर्जन र शल्यक्रिया गर्ने चिकित्सक पठाइ दिन बारम्बार अनुरोध गरि पत्रचार गर्दा पनि प्रतिष्ठानले सुनुवाइ नगरेको डक्टर रावलको भनाइ छ ।
शल्यक्रिया सेवा नभएपछि सोको समस्या सवैभन्दा बढी प्रसुति विभागमा परेको छ । सेवा नहुँदा अन्तिम समयमा गर्भवति महिलालाई प्रसूति गराउन जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
प्रतिष्ठानले सम्झौता अनुसार कर्मचारी नपठाउँदा उपचारको अभावमा बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आउने गरेको नागरिक समाज, डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले गुनासो गर्नुभयो ।
जिल्लामा सेवा नहुँदा उपचार गर्नको लागि बिरामीलाई हेलिकप्टर चार्टर गरेर राजधानी वा अन्यत्र लैजान सक्ने सबैको अवस्था नभएकोले उपचार नै नपाई मृत्युवरण गर्नुपर्ने अवस्था समयसमयमा आउने गरेको अध्यक्ष बुढाले बताउनुभयो ।
०७६ साउन २२ गते जिल्ला अस्पतालमा उपचार हुन नसक्दा त्रिपुरासुन्दरी नपा–१ करेलीकाँडाकी २२ वर्षीया रुपकुमारी बोहराको मृत्यू भएको थियो ।
चिकित्सक अभावका कारण पेटमा उल्टो बच्चा भएकी गर्भवती बोहरालाई थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको भएपनि अस्पताल पुर्याउन ढिलो भएका कारण भेरी अञ्चल अस्पतालमै मृत्यू भएको थियो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि