INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी अभावले सेवाग्राही मर्कामा

कर्मचारी अभाव भएपछि समयमा काम हुन नसक्दा फाकफोकथुम गाउँपालिकाका सेवाग्राही समस्यामा परेका छन् ।

गाउँपालिकाको दुई–दुई ओटा वडाको काम एक जना सचिवले गर्दै आएका छन् । एउटा सचिवको भर पर्नुपर्दा नागरिकताको सिफारिस निकाल्न तीन दिन कुुर्नु परेको वडा नं ४ का सेवाग्राही वीरबहादुर राईले बताउनुभयो ।

फाकफोकथुमका गाउँपालिका–४ र ५ मा एक जना र ६ र ७ नम्बर वडामा एक जना सचिवले काम चलाउँदै आएको गाउँपालिका उपाध्यक्ष सरस्वती राईले बताउनुभयो ।

‘वडा नं १ मा त सामाजिक परिचालकलाई वडा सचिवको जिम्मेवारी दिइएको छ । गाउँपालिका कार्यालयमा पनि कर्मचारी नहुँदा धेरै काम प्रभावित भएको छ ।’–उपाध्यक्ष राईले भन्नुभयो–‘कार्यालयको प्रशासन, लेखा र योजना शाखामा कर्मचारी छैनन् । दुःखले काम चलाइएको छ ।’

लामो समयदेखि कर्मचारी माग गर्दा समेत कर्मचारी नै नआएको राईको भनाइ छ । अहिले न्यायिक समितिमा पनि छुट्टै कर्मचारी नहुँदा उजुरी प्रशासकका रूपमा वडा नं ३ का सचिव तिलविक्रम नेम्वाङलाई जिम्मेवारी दिएको उपाध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाका पशुु, कृषिलगायतका शाखामा पनि कर्मचारी छैनन् ।

निर्वाचित जनप्रतिनिधि सक्रिय भएर काम गरेपनि कर्मचारी अभावले लक्ष्य अनुसार कुनै पनि काम गर्न नसकिएको गाउँपालिका अध्यक्ष रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

‘मङ्सिर भित्र योजनाको प्रक्रियागत काम सक्ने र जेठको पहिलो साता सम्ममा पूर्वाधार लगायतका सबै काम सक्ने लक्ष्य छ ।’–श्रेष्ठले भन्नुभयो–‘तर कर्मचारी आएनन् भने चालू आर्थिक वर्षको काम लथालिङ्ग हुने अवस्था छ ।’

जिल्लाको दुर्गम मानिने माङसेबुङ गाउँपालिकाका ६ ओटै वडामा वडा सचिव छैनन् । गाउ“पालिका कार्यालयमा पनि १७ जनाको दरवन्दीमा दुईजना मात्र कर्मचारी रहेकोे गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।

कर्मचारी अभावकै कारण छिटो छरितो काम गर्न र नागरिकलाई समयमा सेवा दिन समस्या भएको अध्यक्ष इदिङ्गोको भनाइ छ ।

कर्मचारी तत्काल पठाउन सरकारसँग माग गरेपनि कर्मचारी समस्या सम्बोधन नभएको जनप्रतिनिधिहरूको गुनासो छ ।

अन्य

भिडियो