INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरणमा परेको तीन घण्टामा बालकको भारतीय सीमाबाट उद्धार

छिन्नमस्ता गाउँपालिका–५ लोखरमका तीन वर्षीय घनश्याम साह मङ्सिर २२ गते दिउँसो अपहरणमा परेको तीन घण्टामै प्रहरीले साँझ उद्धार गरेको छ ।

आमाबुबाकै आँखा अगाडिबाट अपहरित बालकलाई खोजतलासका क्रममा भारतीय सिमानजिकै छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीस्थित खेतमा परालको कुन्यु (टाल) मा सुताइ रहेको अवस्थामा सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाइले बताउनुभयो ।

बालकलाई खेतको छेउमा राखी आमा लियन साह र बुबा प्रल्हाद साह धान काटिरहेका बेला नम्बर नखुलेको रातो रङ्गको मोटरसाइकलमा आएका अपरिचित एक व्यक्तिले मोटरसाइकल अगाडि राखी भागेको लियनले बताउनुभयो ।

अपहरणको खबर पाए लगत्तै बालकको खोजीमा एसपी प्रसाईसहित डिएसपी तिलक भारती, इन्स्पेक्टर प्रकाश बस्नेत, इलाका प्रहरी कार्यालय सखडाका सई र सादा पोशाकमा प्रहरीहरू व्यापक परिचालन गरिएको थियो ।

व्यापक प्रहरी परिचालन र भारतीय सिमा नाकामा कडाईका साथ चेकजाँच भएपछि अपहरणकारीले बालक छाडेर भागेको एसपी प्रसाइले बताउनुभयो ।

‘शतर्कतापूर्वक काम नगरेको भए सानो गल्तीले बालकको ज्यान जान सक्ने खतरा थियो ।’–एसपी प्रसाइले भन्नुभयो ।

फेला परेका बाललाई मङ्सिर २२ गते राति उनको आमाबुबाको जिम्मा लगाइएको छ ।

अन्य

भिडियो