“समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालनमा छ ।
अभियानको १४ औँ दिन मङ्सिर २२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नरहा गाउँपालिका, ओरेक नेपालको आयोजना र मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल), महिला मानव अधिकार रक्षक सञ्जाल र जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वयमा नरहा गाउँपालिकामा “समाजिक मुल्य मान्यतामा आधारित हानिकारक परम्परागत अभ्यासविरूद्ध” अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलाबदेवी चौधरीले व्यवस्थाहरू परिवर्तनहरू धेरै भए पनि पुरुषहरूको मानसिकता परिवर्तन नभएकै कारण अहिले पनि महिलाहरू विभिन्न किसिमका हिंसाबाट पीडित हुनुपरेको बताउनुभयो ।
‘महिलालाई जे गर्दा पनि हुन्छ भन्ने मानसिकता भएकै कारण महिलाहरू पछि परेका छन् । आफू उपाध्यक्ष भए पनि यसले के गर्न सक्छ ? यसलाई के आउँछ ? भन्ने विचारले गर्दा आफैँ पनि पीडित भएकी छु ।’–उहाँले भन्नुभयो ।
तर, जस्तो सुकै परिस्थिति आए पनि सङ्घर्ष गर्न र आवाज उठाउन नछोडन उहाँले सहभागीहरूलाई आग्रह गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हेमन्तविक्रम राणाले समाजमा हुने जस्तो सुकै घटनाहरूलाई नलुकाएर निर्धक्कसँग बाहिर ल्याउनु पर्ने बताउनु भयो ।
सानो घटनाहरूलाई लुकाएर राख्दा पछि जघन्य घटनाहरू हुने भएकाले समयमै प्रहरी, अधिकारकर्मीहरू र न्यायिक निकायमा सम्र्पक राख्न आग्रह गर्नु भयो ।
प्रहरी, स्थानीय तह र सङ्घसंस्थाहरू मिलेर समजमा जनचेतना मुलक कार्यक्रमहरू गरेर सामाजिक कुप्रथाहरूलाई हटाउन सहकार्य गर्नु पर्ने बताउनु भयो ।






