१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलाशले मनिषलाई कैद र जरिबाना गरेको तथा अन्य आरोपितहरूलाई सफाई दिएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
कविता र मनिषसँगै बालिकाका ४० वर्षीय बाबु विनोद राम, ३५ वर्षीया आमा शान्तिदेवी राम, सोही ठाउँका ४२ वर्षीय परमेश्वर राम र २५ वर्षीय रामलखन रामले बालविवाह गराइदिएको भन्दै मनिषका ४४ वर्षीय बाबु शिवनारायण साहले दिएको उजुरी प्रहरीले दर्ता नगरेको भन्दै उच्च अदालत जनकपुर राजविराज इजलाशबाट ०७५ भदौ २४ गते परमादेश गराई ०७५ असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा बालविवाह विरूद्धको उजुरी दर्ता गराउनुभएको थियो ।
आपसमा प्रेम गरी ०७४ पुस २१ गते घरबाट भागेका कविता र मनिष सुनसरीको इनरुवामा घरजम गरेर बसेकोमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले दुवैलाई ०७४ माघ २८ गते अलग गरी घर परिवारको जिम्मा लगाएको थियो ।
दुवैलाई अलग गराए पनि माइत विस्थापित कवितासँगै बस्नुभएका मनिषले ०७४ फागुन १ गते हनुमानगर कङ्कालिनी नपा–१ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेर पुनः सँगै बस्न थाल्नुभएको थियो ।
कञ्चनरुप नगरपालिकाको न्यायिक समितिले समेत मनिष र कवितालाई ०७४ चैत १३ गते आ–आफ्नो अभिभावकको जिम्मा लगाएको थियो ।
हरेक ठाउँमा कविता र मनिष दुवैले आफूहरूले राजीखुसीले विवाह गरेको बयान दिँदै सँगै बस्दै अउनुभएको थियो ।
सप्तरी जिल्ला अदालतले आरोपितहरूविरूद्ध ०७५ मङसिर १३ गते म्यादी पुर्जी जारी गरेपछि जिल्ला अदालतमा ०७५ पुस १८ गते हाजिर हुनुभएका मनिषलाई १० हजार रुपियाँ र कवितालाई ५ हजार रुपियाँ धरौटी लिई तारेखमा रिहा गरेको थियो ।