नेपाल सरकारले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार ०७५ माघ २७ गते कर्मचारी समायोजन सम्पन्न ग¥यो ।
सोही ऐनको परिच्छेद १३ मा कर्मचारी हाजिर हुनुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार समायोजन भएका कर्मचारी बाटोको म्याद बाहेक २१ दिन भित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवाको पदमा अनिर्वाय हाजिर हुनुपर्ने हो ।
तर, समायोजनपछि अपायक भन्दै दरवन्दी तोकिएका कर्मचारी नआउँदा मेन्छे्यायेम गाँउपालिकाका सेवाग्राही समस्यामा परेका छन् ।
गाउँपालिकामा समायोजन भएका पदहरू मध्ये वडासचिवहरू हाजिर भएका छैनन् । समायोजन भएका कर्मचारी नआउने र सङ्घीय सरकारले कर्मचारीलाई नपठाउँदा सेवाग्राहीले समयमा सेवा प्राप्त गर्न सकेका छैनन् ।
मेन्छ्यायेम गाउँपालिका सबै पाँच ओटै वडा कार्यालय अढाई वर्षदेखि सचिवविहीन छन् । सरकारले कर्मचारी समायोजन गरे पनि यहाँका वडाहरूमा सचिव छैनन् ।
वडामा सचिव नहुँदा कामकाज समयमा सञ्चालन गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ । ०७३ फागुन २७ गतेबाट मेन्छ्यायेम गाँउपालिका–१ देखि ५ सम्मका वडाहरूमा सचिव नहँुदा समस्या भएको गाँउपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताउनुभयो ।
साविक मोराहाङ, श्रीजुङ र पौठाक गाविसका वडाहरू समेटेर मेन्छ्यायेम गाउँपालिका गठन गरी ६ ओटा वडा रहेको उक्त पालिकामा दरबन्दी अनुसारको सचिव नपाएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले बताउनु भयो ।
सबै वडा कार्यालयहरू सहायकस्तरका कर्मचारीको भरमा चलिरहेको उहाँले जानकारी दिनुभयो । वडासचिव नहुँदा स्थानीय सेवाग्राही पञ्जीकरणको सुविधाबाट वञ्चित भएका छन् ।
जन्मदर्ता र मृत्यु दर्ता जस्ता कामका लागि गाँउपालिकाका कार्यालय नै पुग्नु पर्दा समस्या भएको वडा नम्बर २ का ४५ वर्षीय सेवाग्राही गौरीप्रसाद दाहालले बताउनु भयो ।
वडा कार्यालयको सचिव सुब्बास्तरको हुने व्यवस्था भएपनि खरिदारस्तरका कर्मचारी समेत कार्यालयमा नहुँदा कार्यालय सहयोगीले समेत कार्यालय चलाउन परेको छ ।
दरबन्दीका सचिवहरू नहुँदा स्थानीय सरकारले चाहे अनुसारका काम गर्न नसकेको अध्यक्ष खापुङले गुनासो गर्नुभयो ।
कतिपय निर्णयहरू कार्यान्वयन गर्ने र काम गर्ने सिलसिलामा तल्लो तहका कर्मचारी मात्र हुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।
अध्यक्ष खापुङले भन्नुभयो–‘हामीले प्रदेश र सङ्घीय सरकारलाई पटक–पटक दरबन्दी अनुसारका कर्मचारी पठाइदिन आग्रह गर्दा पनि सुनुवाइ भएको छैन ।’