INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउपडी गोठमा निसास्सिएर एक युवतीको मृत्यु

महिला हिंसा विरूद्वको १६ दिने अभियान चलिरहेकै बेला साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको शव मङसिर १६ गते बिहान छाउपडी गोठमा फेला परेको छ ।

महिनावारी भएको चौथो दिन मङ्सिर १५ गते खाना खाएर छाउपडी गोठमा सुत्न गएकी पार्वतीको शव भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएको मृतकका जेठाजु छत्र रावतले जानकारी दिनुभयो ।

घरभन्दा करिब १ सय मिटर टाढा रहेको सात फिट लामो, आठ फिट चौडाइ र ६ फिट उचाइ भएको छाउ घरमा मृत अवस्थामा पार्वतीको शव भेटिएको घटनास्थल पुग्नु भएका इलाका प्रहरी कार्यालय साँफेबगरका इन्स्पेक्टर नरपती भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो–‘होचो र सानो गोठमा आगो बालेको देखियो । प्रारम्भिक रूपमा हेर्दा निसास्सिएरै मृत्यु भएको हुनसक्छ । बिहान सात बजेसम्म नउठेपछि ढोका फोरेर हेर्न जाँदा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् ।’

मृतकको शव पोष्टमार्टमका लागि सदरमुकास्थित जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
१ वर्ष ६ महिनाअघि विवाह भएको पार्वतीका पति रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ ।

साविकको सिद्धेश्वर गाविस छाउपडी गोठ मुक्त घोषणा गरिएको थियो । अछाम जिल्लामा सन् २००७ यता मात्र १४ जना भन्दा बढीको मृत्यु छाउपडी गोठमा भएको तथ्याङ्क रहेको छ ।

photo20191202achham (1).jpg

अन्य

भिडियो