सानीभेरी गाउँपालिका–१ पक्रैयामा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् । १ सय ५० घरधुरी रहेको पक्रैया गाउँमा १५ वर्षदेखि नै खानेपानीको समस्या रहेको स्थानीयको गुनासो छ ।
प्रशस्त पानी हुुने वर्षात्को समयमा पनि पक्रैयामा खानेपानीको हाहाकार हुने गरेको स्थानीय जयकुमारी पुनले बताउनुभयो ।
खानेपानीको लागि गाउँमा सातओटा धारा जडान भएको भएपनि ति धारामा पानी नआउँदा दुई घण्टा टाढा पुगेर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको पुनको भनाइ छ ।
गाउँमा पर्याप्त मात्रामा पानीको मुहान नभएको र अर्को गाउँबाट खानेपानी ल्याउन खोज्दा त्यहाँका स्थानीयले अवरोध गरेपछि सो स्थानमा पानीको धेरै समस्या भएको वडा अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो ।
पहिलेदेखि नै खानेपानीको लागि सरोकारवाला निकायलाई कुरा राखेको भएपनि सुनुवाइ नभएको वडा अध्यक्ष पुनको भनाइ छ ।
सानीभेरी गाउँपालिकाको पहलमा यस वर्ष सो गाउँको खानेपानी योजनाको लागि प्रदेश सकारले ७० लाख रुपियाँ बजेट छुट्याएकाले खानेपानीको लागि अब छिटै काम सुरू गरिने वडाअध्यक्ष पुनले बताउनुभयो ।
यति लामो समयसम्म खानेपानीको सम्म खानेपानीको समस्या झेल्दै आएको सो गाउँमा प्रदेश सरकारले खानेपानीको लागि बजेट छुट्याएपछि भने केही आशा पलाएको स्थानीय प्रज्ज्वल पुनको भनाइ छ ।
गाउँमा खानेपानी ल्याउनको लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्याएपनि काम भने अझै सुरू नभएको पुनले बतउनुभयो ।
