INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या

जिल्ला कारागार म्याग्दीमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या देखिएको छ । कारागार प्रशासनले दिएको जानकारी अनुसार २५ पुरुषको क्षमता भएको कारागारमा ८४ जना रहेका छन् ।

सात जनाको क्षमताको महिला कक्षमा भने सात जना मात्रै महिला रहेका छन् । अहिले जिल्ला कारागार म्याग्दीमा ९१ जना कैदीबन्दीहरू रहेका छन् ।

अहिले जिल्ला कारागारमा रहेको चार ओटा शौचालय मध्ये सात जना महिलाको लागि एक र ८४ जना पुरुषका लागि तीन ओटा शौचालय प्रयोगमा ल्याइएको छ ।

पुरुषले प्रयोग गर्ने शौचालय पटकपटक जाम हुने समस्याले गर्दा सञ्चालनमा ल्याउन निकै कठिन भएको कारागारका बन्दी कमल पुर्जाले बताउनुभयो ।

बिहानको समयमा शौचालयको प्रयोगका लागि चार बजे देखिनै उठ्नु पर्ने जस्तो अवस्था देखिएको कैदीबन्दीहरुको भनाइ छ । ‘शौचालय प्रयोगको लागि लाम बस्नुको विकल्प नै छैन ।’–कैदीबन्दीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रप्रसाद मरासीनी गत आर्थिक वर्षमा म्याग्दी, पर्वत र बागलुङको संयुक्त सुरक्षा बैठकमा माहिला कैदीबन्दीहरूलाई एकीकृत गर्ने विषयमा छलफल भएको भएपनि त्यसको निचोेड ननिस्केको बताउनुहुन्छ ।

महिला कैदीबन्दीलाई एकीकृत गरेको खण्डमा पनि व्यवस्थापनमा केही हदसम्म भएपनि सहज हुने डिएसपी मरासीनीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले समस्या समाधानकालागि जति सक्यो चाँडो पहल गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो–‘जति सक्यो चाँडो अहिले देखिएको समस्या समाधानकालागि निर्देशन गर्छु ।’

कारागार कार्यालयका जेलर राजेन्द्र शर्माले पुरुष कैदीबन्दीहरूका लागि समस्या भएकाले युरिनल निर्माण गर्नका लागि पहल गरिएको बताउनुभयो ।

कारागारमा कैदीबन्दीको सङ्ख्या धेरै भएका कारणले गर्दा सुत्नका लागि समेत निकै समस्या रहेको कैदीबन्दीको भनाइ छ ।

कारागार व्यवस्थापनको समस्या समाधानका लागि भवन थप्नु वा स्थानान्तरण गर्नुको विकल्प नरहेको जेलर शर्माले बताउनुभयो ।

अन्य

भिडियो