स्वास्थ्य बीमाको सुविधा अनुसार अस्पतालले औषधि नदिएको भन्दै उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर भएको छ ।
अधिवक्ता अनिता तिमल्सिनाले मङ्सिर १२ गते अदालतमा रिट दर्ता गर्नु भएको हो । स्वास्थ्य बीमा बोर्ड, जिल्ला प्रशासन कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई विपक्षी बनाई परमादेशको मागसहित रिट दायर गरेको उहाँले बताउनुभयो ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीमा अन्तर्गत बिरामीलाई निःशुल्क दिनुपर्ने अधिकांश औषधि निजी फार्मेसी, औषधि पसलमा किन्न पठाउने गरेकोले अदालतमा रिट दायर गर्नुपरेको अधिवक्ता तिमल्सिनाले बताउनुभयो ।
स्वास्थ्य बीमा अनुसारका १ हजार १ सय १८ प्रकारका औषधि बिरामीलाई निशुल्क उपलब्ध गराउनुपर्ने, गुणस्तरीय औषधि आपूर्तिको व्यवस्था गर्नुपर्ने, बिरामीले औषधि पाए नपाएको अनुगमन गर्नुपर्ने र अनुगमन गरे नगरेको प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्न समेत उहाँले माग गर्नु भएको छ ।
अधिकांश कर्णालीबासीलाई स्वास्थ्य बीमाप्रति असन्तुष्ट भइरहेको बेला जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही राम्रो सुविधा छ भनिए पनि निःशुल्क औषधि उपलब्ध गराउने सम्बन्धमा धेरै गुनासो आउने गरेको छ । धैरे पटक मङ्हगो औषधिलाई फार्मेसीमा किन्न पठाउने गरेको गुनासो समेत आउने गरेको थियो ।
तर यस पटक भने अधिवक्ता तिमल्सिनाले नै अदालतमा स्वास्थ्य बीमा अनुसार औषधि आपुर्तिका लागि रिट दिनु भएको हो ।
अस्पतालको फार्मेसीमा आवश्यक औषधि नहुने र अस्पताल बाहिरका निजी औषधि पसलबाट बिरामीले चर्को मूल्यमा किन्न बाध्य भएको गुनासो स्थानीय भैर दमाईले गर्नुभयो ।
स्थानीय बलीराज शाहीले भने स्वास्थ्य बीमाको सेवा सुविधा प्रति अस्पताल प्रशासन उदासिन भएको आरोप लगाउनुभयो ।
गरिव विपन्न वर्गका लागि स्वास्थ्य बीमा कार्यक्रम राम्रो हो तर यस प्रति कार्यन्वयन गर्ने निकाय जिम्मेवार नभएका कारण सेवाग्राही वञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानले औषधि आपुर्तिका लागि टेण्डर आह्वान भइसकेको छ ।
‘हाल प्राप्त टेण्डर माथि प्रतिष्ठानको केन्द्रीय टोलीले मुल्याङ्कन गरिरहेको छ । केही दिनमा मुल्याङ्कनको आधारमा कुन कम्पन्नीलाई पर्छ । सोही कम्पन्नीले एक सातामा औषधि पठाउँछ ।’–रजिष्टार काफ्लेले भन्नुभयो–‘नागरिकलाई दुःख दिने नियतले बीमा कार्डमा भएको औषधिलाई निजी मेडिकलमा किन्न पठाएको छैन ।
टेण्डर भएको तर मुल्याङ्कन जारी रहेकोले औषधि आपुर्ति नहुँदा बीमा कार्डमा भएको औषधि नागरिकलाई उपलब्ध गराउन नसकिएको रजिष्टार काफ्लेको भनाई छ ।
अहिले ६ सय ५६ प्रकारका औषधिको टेण्डर मागेर आपुर्ति सम्झौता हुन लागेको प्रतिष्ठानले जनाएको छ ।