INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच महिना बितिसक्दा पनि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेनन्

जिल्लाका ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाहरू सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् ।

सातओटा गाउँपालिकाका ४४ ओटा वडा रहेको हुम्लामा दसैँ अगाडि नै सरकारले दिनुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण अहिलेसम्म हुन सकिरहेको छैन ।

चङ्खेली गाउँपालिका बाहेक अन्य ६ ओटा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाइ गरेको स्थानीयको गुनासो छ ।

‘आएको रकमले न्यानो र नयाँ कपडा किनौला भन्ने सोच राखेको थिएँ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता साउनमा पाउनुपर्ने भनिएता पनि अहिलेसम्म पाइएन । निकै खल्लो लागेको छ ।’–सिमकोट गाउँपालिका–२ की मैना बोहराले भन्नुभयो ।

६ ओटा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा पाँच वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका ज्येष्ठ नागरिक, एकल तथा विधुवा र अपाङ्गता भएकाहरूले भत्ता नपाएको गुनासो गरेका छन् ।

सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाका–१ देखि ८ सम्मका सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने लक्षित समुदायले लेखापाल नभएका कारण समयमा सो बापतको रकम नपाएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।

आठ ओटै वडाका वडाध्यक्षहरूले रकम निकासाको लागि चासो नदिँदा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको अधिकृत दर्जीले बताउनुभयो ।

वडाध्यक्षहरूले आफ्नो वडामा रहेका सामाजिक सुरक्षा भत्ता पाउनेको विवरण गाउँपालिकामा नबुझाउँदा ढिलाइ भएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका लेखापाल आएपछि रकम निकासा गरी अबको एक हप्ता भित्र रकम वितरण गर्ने प्रमुख प्रसासकीय अधिकृत दर्जीको भनाइ छ ।

अदानचुली गाउँपालिकाले कर्मचारीको अभावका कारण चौमासिक तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो ।

अदानचुली गाउँपालिकामा रहेका ६ओ वडामा एक जना मात्रै सचिव रहेको हुँदा काम गर्न समस्या भएकाले वितरणमा ढिलाइ भएको अध्यक्ष फडेराको भनाइ छ ।

खार्पुनाथ गाउँपालिकामा पनि पहिलो चौमासिक तर्फको सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । गाउँपालिकाले रकम निकासा गरेता पनि उपनिर्वाचनले गर्दा वितरण गर्न नसकिएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।

सर्केगाड गाउँपालिकाले पहिलो किस्ताको पहिलो चौमासिक वितरण गरेता पनि दोश्रो चौमासिकको भत्ता वितरण गर्न नसकेको गाउँपालिकाका सुब्बा बिरमान बोहराले जानकारी दिनुभयो ।

ताँजाकोट गाउँपालिकाले पनि सुरक्षा भत्ता वितरण गर्न ढिलाइ गरेको छ । नाम्खा गाउँपालिकामा पनि अब केही दिनमा रकम निकासा गरी वितरण गर्ने अध्यक्ष विष्णु लामाले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ताको रकमबाट खान, लत्ता कपडालगायतका विभिन्न खर्च चलाउँदै आएका ज्येष्ठ नागरिक लामो समयसम्म भत्ता नपाउँदा निकै समस्यामा परेका छन् ।

कर्मचारी समायोजनको कारण र सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूको रेकर्ड नहुँदा रकम निकासामा ढिला भएको भन्ने गाउँपालिका स्रोतले जनाएको छ ।

सरकारले ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई १ हजार रुपियाँ, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई २ हजार रुपियाँ, पूर्ण अपाङगता भएका व्यक्तिलाई २ हजार रुपियाँ, आंशिक अपाङगता भएका व्यक्तिलाई ६ सय रुपियाँ, एकल महिलालाई १ हजार रुपियाँ, बालबालिकालाई २ सय रुपियाँ उपलब्ध गराउने प्रावधान बनाएको छ ।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू भने कर्मचारी समायोजनाले गर्दा सामाजिक सुरक्षा भत्ता मात्रै नभएर स्थानीय तहमा अन्य काम गर्न समस्या हुनेगरेको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो ।

सिमकोट, खार्पुनाथ, अदानचुली, ताँजाकोट, नाम्खा गाउँपालिकाले अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेका हुन् ।

अन्य

भिडियो