शिक्षक सेवा आयोगमा नाम निकालेका अपाङ्गता भएका शिक्षकलाई चितवन माविले हाजिर गर्न नदिएको पाइएको छ ।
शारीरिक अपाङ्गता भएका दुर्गा बोम्जनलाई विद्यालयले हाजिर गर्न नदिएको हो । ३२ वर्षीय बोम्जन पहिलो पटक मङ्सिर १ गते नियुक्तिपत्र लिएर चितवन मावि जानुभएको थियो तर हाजिर हुन नपाएको उहाँको गुनासो छ ।
१२ औँ दिनसम्म विद्यालय पुग्दा पनि विद्यालयले हाजिर गर्न नदिएको उहाँको आरोप छ । त्यसपछि उहाँ भरतपुर महानगरपालिकाको शिक्षा शाखा र शिक्षा समन्वय एकाईमा पुग्नुभयो तर कुनै उपाय निस्केन ।
समन्वय एकाई प्रमुख भुमिलाल सुवेदीले बोम्जनले चाहेको विद्यालयमै अध्यापन गराउन पाउने बताउनुभयो ।
नियुक्तिपत्र लिएको १५ दिनभित्र तोकिएको विद्यालयमा हाजिर नभए नियुक्तिपत्र नै बदर हुन्छ । विद्यालय व्यवस्थापन समितिले भने विद्यालयको पठनपाठनको लागि योग्य भए पनि विद्यालयको संरचना नै बोम्जनको लागि समस्या भएकाले तत्काल हाजिर गराउन सक्ने स्थितिमा नरहेको जनाएको छ ।
‘हामीले हाजिर गर्नै नदिने भन्ने कुरा गरेका होइनौँ । चितवन माविका कुनै पनि भवन अपाङ्गमैत्री छैनन् ।’–विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेले भन्नुभयो–‘बोम्जनको शारीरिक अवस्थाप्रति विभेदपूर्ण काम गरेका छैनौँ ।’
अपाङ्ग समाज चितवनको कार्यसमिति सदस्य एमके ज्वालाले चितवन माविको यस घटनाप्रति सम्बन्धित सरोकारवालाहरू सचेत हुन जरूरी रहेकोे बताउनुभयो ।
बोम्जन ह्वीलचियर प्रयोग गर्नुहुन्छ । सहयोगीबिना हिँडडुल गर्न सक्नुहुन्न । उहाँ भरतपुरको नारायणी माविभित्र स–परिवार बस्दै आउनुभएको छ ।