निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले मङ्सिर ११ गते बबई गाउँपालिकालाई स्पष्टिकरण माग गरेको छ ।
बबई गाउपालिका–१ मा विद्युतको पोल वितरण गरेको, कुलो, नाला निर्माण गर्न डोजरको प्रयोग गरेको भन्दै मङ्सिर ७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले लिखित रूपमा स्पष्ट्रिकरण माग गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनु भयो ।
उहाँले गाउँपालिकाको नियमित र यस अघिकै निर्माणधिन योजना हो कि नयाँ हो ? खुलाई पठाउन पत्र लेखे पनि तीन दिन बितिसक्दा समेत जबाफ नआएको बताउनु भयो । बबई गाउँपालिकाको जबाफ र प्रमाणका आधारमा कारवाही अघि बढाइने थापाले बताउनुभयो ।
यसैगरी प्रदेश ५ को भौतिक योजना मन्त्रालयले तुलसीपुर उमनपामा नयाँ बाटोको सर्भेको काम भने रोकिएको छ ।
‘उजुरी आएपछि हामीले प्रदेश मन्त्रालयलाई पत्र लेख्यौँ ।’–मुख्य निर्वाचन अधिकृत थापाले भन्नुभयो । निर्वाचन नसकिँदासम्म काम रोक्नु भनेपछि मन्त्रालयले बाटो सर्भेको काम तत्कालका लागि रोकेको थापाले बताउनु भयो ।