INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकको हत्या भएको भन्दै प्रहरीमा उजुरी

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू भएकै दिन मङ्सिर ९ गते राजविराज नपा–६ की ७५ वर्षीय ज्येष्ठ नागरिक ७५ वर्षीया अनुरागी देवी दासको हत्या भएको भन्दै ३५ वर्षीय नाति दिपेन्द्र दासले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मङ्सिर ९ गते उजुरी दिनुभएको छ ।

कान्छा छोरा विनोद दासको घरमा बस्ने गरेकी पीडित बिहान घर पछाडि मृत अवस्थामा फेला परेको र पीडितको घाँटी, पिठ्यूँ, कम्मर र शरीरका विभिन्न अङ्गमा चोटपटक लागेको देखिएकाले हत्या भएको भन्दै दिपेन्द्र दासले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको डिएसपी तिलक भारतीले बताउनु भयो ।

दिपेन्द्रले पीडितको हत्या भएको र प्रहरीलाई जानकारी नदिई दाहसंस्कार गर्न थालेको उजुरी गरेपछि घटनास्थल पुगेको प्रहरीले शङ्कास्पद मृत्यु भन्दै पोष्टमार्टमका लागि शवलाई मङ्सिर १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको इन्स्पेक्टर सन्तोष खडकाले बताउनु भयो ।

रामेश्वरलाल दासको ०७५ फागुन १५ गते मृत्यु भएपछि उनकी पत्नी अनुरागीदेवी दास ०७६ वैशाखदेखि कान्छा छोरा विनोद दासको घरमा बस्न थाल्नु भएको थियो । त्यसअघि उहाँ जेठा छोरा योगेन्द्रलाल दासको घरमा बस्ने गर्नु भएको थियो ।

विनोद दासले भने मानसिक रोगी अनुरागीदेवी कुर्सीमा चढेर छतमा उक्लिँदा लडेर मृत्यु भएको बताउँदै आउनुभएको छ ।

दुर्घटनामा मृत्यु भएको दावी गर्दै पोष्टमार्टम नगर्न वा गर्नै परे राजविराजस्थित अस्पतालमै पोष्टमार्टम गर्न माग गरेपछि घटनामा थप शङ्का भएको छ ।

अनुरागीदेवीको नाममा रहेको जग्गा जमीन, बैङ्क ब्यालेन्स आफ्नो नाममा सारेपछि हत्या गरी छतबाट मिल्काएर दुर्घटना देखाउने प्रयत्न गरेकाले प्रहरी कार्यालयमा उजुरी गरेको दिपेन्द्रले बताउनु भयो ।

प्रहरीले भने हत्या वा दुर्घटना के हो भनेर अहिल्यै एकिन नभएको भन्दै अनुसन्धान थालिएको जनाएको छ ।

पाँच भाइ छोराहरूलाई अङ्शभाग दिएर जिउनीका लागि पीडितले आफ्नो नाममा राखेको सम्पत्तिको लागि छोराले पटकपटक कुटपिट र दुव्र्यवहार गर्ने गरेको छिमेकीहरूले बताएका छन् ।

अन्य

भिडियो