INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका ६ जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय, दार्चुलाले मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न दार्चुला सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका –३ का २२ वर्षीय ललित सार्की, पर्शुराम नगरपालिका –५ का २३ वर्षीय गणेश बोहरा, बझाङ जिल्ल्ला बुंगल गाउँपालिका– ४ का २९ वर्षीय तिलक कुँवर, खप्तड छन्ना गाउँपालिका– ८ का २५ वर्षीय शुभास जोशी, दार्चुला जिल्ला मार्मा गाउँपालिका– ४ का १९ वर्षीय धनसिंह धामी, र बाजुर जिल्ला बुढीगंगा नगरपालिका –१० का २१ वर्षीय दिपक रावतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

दार्चुला जिल्लास्थित खुलामञ्चमा कार्यक्रम गर्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरीले महेन्द्र मावि खलङ्गाको गेट, बसपार्क र होटलबाट उहाँहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्सपेक्टर सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

गिरफ्तार गरिएको विद्यार्थी नेताहरूबाट रातो झण्डा, भारतीय विस्तारवाद मुर्दावाद (आइ लभ नेपाल), नरेन्द्र मोदी मुर्दावाद, कालापानी हाम्रो हो, लेखेका पर्चाहरू र विभिन्न सङ्घसस्था तथा कार्यालयलाई सहयोग रकम माग्न प्रयोग गरिएका रसिदहरूसमेत फेला परेको इन्स्पेक्टर जोशीले बताउनुभयो ।

अन्य

भिडियो