मङ्सिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्न खोजेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका– १२ बाट मङ्सिर ९ गते नौ जनालाई गिरफ्तार गरेको छ ।
धरान उपमहानगरपालिकाको प्रमुखका लागि हुने उपनिर्वाचनको विरूद्धमा धरानको छाता चोकमा रहेको पुरानो अस्पताल क्षेत्रमा भेला भई उपनिर्वाचन बहिष्कारको कार्यक्रम गर्ने तयारी गर्दैगर्दा सिपी गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिकका नौ जना कार्यकर्तालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा पर्नेमा उदयपुर लिम्चुङबुङ घर भई धरान उमनपा–१५ एभेष्ट लाइन बस्ने मोर्चाका केन्द्रीय सदस्य ३० वर्षीय टिकाराम राई, धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ शुक्रबारेका केन्द्रीय सदस्य २७ वर्षीय मोहन लिम्बू, तेह्रथुमको म्याङलुङ नगरपालिका–२ घर भएका केन्द्रीय सदस्य २५ वर्षीय तारक लिम्बू, २७ वर्षीय मोहन लिम्बू, ३४ वर्षीय पदम तामाङ, ४३ वर्षीय गौरव राई, झापाका ३४ वर्षीय जय आचार्य, रामबहादुर पौडेल र इटहरीका सन्तोष ठाकुर रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानले बताउनु भयो ।
डिएसपी न्यौपानेले उनीहरूको साथबाट एउटा साउण्डबक्स, एउटा वायरलेस माइक, सिपी गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाको १५ थान पर्चा पनि बरामद गरेको बताउनु भयो ।
संसदीय उपचुनाव बहिस्कार गरौँ, सङ्घीय गणतन्त्रको दिशामा अघि बढौँ भन्ने नाराका साथ सो मोर्चाले उपनिर्वाचन बहिस्कारको कार्यक्रम गर्न लागेको थियो ।
गिरफ्तारीमा परेका सबैलाई मङ्सिर ९ गते नै अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।