सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका दुर्गमका बस्तीहरूमा बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था लैजानु पर्ने बाध्याता रहेको छ ।
स्वास्थ्य चौकीमा उपचार नहुने र बिरामीलाई जिल्ला अस्पतालमा लैजानु पर्ने अवस्था आएपछि दुई दिन बोकेर लैजानु परेको हो ।
सर्केगाड गाउँपालिकाको–१ को जैरस्थित ७० वर्षीया हस्तकला रोकाया एक हप्ता अगाडिदेखि नै बिरामी भएपनि जैर स्वास्थ्य चौकीमा उपचार नभएपछि जिल्ला अस्पताल लैजान दुई दिन बोकेर लगिएको बिरामीका भाञ्जा कालीबहादुर बुढाले बताउनुभयो ।
जैरबाट सर्केगाडसम्म आएर एक रात बास बस्नु परेको र पछिल्लो दिन बिरामीलाई सिमकोट पुर्याउनु पर्ने बिरामीका आफन्त कालीबहादुरले दुखेसो पोख्नुभयो ।
जैरबाट सिमकोसम्म बाटो पनि निक्कै उकालो ओरालो रहेको र दुई जनाले बोकेर सिमकोट लैजानु परेको उहाँले बताउनुभयो ।
‘गाँउको स्वास्थ्यचौकीमा बिरामीलाई बोक्ने सामान्य स्ट्रेचर समेत व्यवस्था नहुँदा डोरी लगाएर बिरामीलाई बोकेर लैजानु परेको हो ’–उहाँको गुनासो छ ।
हुम्ला जिल्ला सडक सञ्जालसँग नजोडिँदाको पिडा हुम्ली बासीले यसरी बेलाबेला समस्या भोग्दै आएका छन् ।
केही समय अगाडि मात्र यस्तै चङ्खेली गाउँपालिका–२ का बिरामी रत्न टमटालाई पनि साढे दुई दिन लगाएर जिल्ला अस्पतालमा पुर्याइएको थियो ।
यसअघि सर्केगार्ड गाउँपालिका–४ की एक जना गर्भवती महिलाको पनि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।
सडक सञ्जाल नजोडिदासम्म हुम्लाका बिरामीहरूले यो नियति भोगी रहनु पर्ने स्वास्थ्यकर्मी नबिन शाहीले बताए ।
जैर स्वास्थ्य चौकीका इञ्चार्ज नविन शाहीका अनुसार सदरमुकाम सिमकोटदेखि सो स्वास्थ्यचौकी धेरै टाढाको दुरी रहेकोले पनि विभिन्न समस्याहरू आएका छन् । गाउँपालिकाले पनि औषधिको समेत वास्ता नगरेको इन्चार्जको भनाइ छ ।