ओखलढुङ्गा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा हेल्थ असिस्टेन्ट (एचए) को दरबन्दी भए पनि एक वर्षदेखि खाली छ । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण हुँदैन ।
अचानक बिरामी पर्दा र साधारण उपचारका लागि समेत गाडी खोजेर प्रहरी राखेर जिल्ला अस्पताल रुम्जाटार पुर्याउनु पर्ने बाध्यता रहेको कारागारका जेलर नाथु शाहले बताउनुभयो ।
सामान्य स्वास्थ्योपचारको माग गर्दा बिरामीलाई तत्कालै सेवा दिन नसकिने कारागार कार्यालयले जनाएको छ ।
कारागारमा स्वास्थ्यकर्मी र गाडी सरकारले व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । ०७२ सालको भूकम्पले जीर्ण बनाएको यो कारागार ०४७ सालमा निर्माण भएको हो ।
२५ जनाको क्षमता रहेकोमा ६५ जना कैदीबन्दी छन् । जीर्ण भवनको पुनः निर्माण समेत हुन सकेको छैन ।
स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति पर्याप्त नहुँदा कारागारका समस्या व्यवस्थापन गर्न कठिन हुने गरेको छ ।
स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य परीक्षण तथा सामान्य औषधि पाउन कठिन हुने गरेको कैदी नवराज बस्नेतले बताउनुभयो ।
ठूलो समस्या हुँदा उपचार गर्न प्रशानले लाने गरे पनि सामान्य चेकजाँच गर्न समस्या रहेको उहाँको भनाइ छ ।
कारागारमा आवश्यक जनशक्ति पटकपटक माग गरे पनि कारागार व्यवस्थापन विभागले सुनेको छैन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जेलर समेत नभएर आफैँले कारागार आउने कर्मचारी खोजेर दरबन्दी व्यवस्थापन गर्न लगाएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘जेलरको दरबन्दी खाली थियो । आफैँले आउने एकजना कर्मचारी खोजेर राखेको हो ।’ स्वास्थ्यकर्मी समेत माग गरेपनि अहिलेसम्म विभागले नपठाएको उहाँको भनाइ छ ।