INSEC Online

📅 २०८३ जेष्ठ २१

डेढ महिनासम्म पनि घटनाको छानविन प्रतिवेदन सार्वजनिक भएन

आमाछोदिङमो गाउँपालिका–३ गत्लाङका १९ वर्षीय आशिष तामाङलाई गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा गत भदौ १७ गते दिउँसो ४ः३० बजे टिमुरे प्रहरी चौकीका असई डिल्लीबहादुर श्रेष्ठ र प्रहरी हवल्दार रामबहादुर स्याङ्तानले कुटपिट तथा दुर्व्यवहार गरेको घटनाको प्रतिवेदन डेढ महिनासम्म पनि सार्वजनिक भएको छैन ।

पीडितका बाबु पेम्पा तामाङले घटनाको बारेमा आफूहरूसँग बयान लिएपनि झण्डै दुई महिना बित्दा समेत कुनै सूचना नपाएको बताए ।

ना ६ ख ४९२५ नम्बरको कन्टेनर रोकेर चालक खाजा खान भएको बेला गाडीमा आराम गरिरहेका कन्टेनरका धनीसमेत रहेका तामाङ चीनको केरुङ घुम्न जान लागेका थिए ।

‘रोकेको अवस्थामा रहेको कन्टेनरमा यो कस्को गाडी ? किन गलत ठाउँमा पार्किङ गरेको ?’ भन्दै प्रहरीले सोधेपछि कक्षा १२ मा अध्ययनरत युवा तामाङले मेरो भन्ने बित्तिकै प्रहरीले अपशब्दले गाली गरेर अन्धाधुन्ध कुटपिट गरेका थिए । ‘त्यसबेला आफ्नो कुरा राख्न पाइएन ।’–तामाङले भने ।

‘घटनामा संलग्न प्रहरीहरूलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको र आवश्यक अनुसन्धान पछि विभागीय कारबाही हुने भने पनि के कारबाही भएको भन्ने कुरा सार्वजनिक भएन ।’–जिल्ला प्रहरी कार्यालयका डिएसपी भाग्येन्द्रपुरुष ढकालले बताए ।

घटनाको भोलिपल्ट बिहानै घटनास्थल पुगेर प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी समेत सुरक्षा अधिकारीहरूले आठ बुँदे सहमति गरी छानबिन समितिको गठन गरेको थियो ।

समितिका संयोजकमा महान्यायाधिवक्ताको कार्यालयका उप–न्यायाधिवक्ता चन्द्रकुमार पोखरेल तोकिएका थिए ।

समितिमा जिल्ला समन्वय समिति रसुवाका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत डा.थानेश्वर भुसाल, गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङ र व्यवसायी प्रतिनिधि कामीनूर्पु तामाङ सदस्य रहेका थिए ।

‘निर्दोष छोरामाथि टिमुरेमा अपशब्दले गाली गरी सडकमै लाछारपछार गरी निर्घात कुटपिट भएको घटनाको छानविन भएन ।’–पीडितले बाबु पेम्पा तामाङले भने ।

प्रहरीले अमानवीय तवरले लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

अन्य

भिडियो