INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा लक्षित समुदाय पीडित

नेपाल सरकारले लक्षित समुदायलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिक अहिले सम्म वितरण नगरेकाले लक्षित समुदाय पीडित भएका छन् ।

सिमकोट र लिमि गाविस बाहेक अन्य २५ ओटा गाउँ विकास समितिका सचिवले उक्त भत्ता वितरण नगरेपछि लक्षित समुदाय पीडित भएका हुन् ।

जिल्ला विकास समितिले यस आर्थिक वर्ष२०७३/०७४ को गत भदौ महिनामा अख्तियारी दिएको भए पनि गाविसका सचिवको लापरबाहीका कारण हालसम्म वितरण नगर्दा ज्येष्ठ नागरिक, विधुवा तथा एकल महिला, दलित बालबालिका र अपाङ्गता भएका व्यक्तिलगायत पीडित भएका हुन् ।

गाविस सचिवले मङ्सिर ७ गतेसम्म पनि समाजिक सुरक्षा भत्ता वितरण नगर्दा समस्या भएको डाँडाफया-८ की ८८ वर्षीया लालसरा सिंहले गुनासो गरिन् ।

‘बेलामा भत्ता आएको भए हामी गरिबको बिहान र बेलुकाको छाक टार्नका लागि भए पनि केही राहत हुन्थ्यो ।’-जयकला सिंहले भनिन् ।

हुम्लाका २७ ओटा गाविसमा ४ हजार ४ सय ४७ जना ज्येष्ठ नागरिक, ७ सय ३४ जना एकल महिला, ७० जना पूर्ण अपाङ्गता भएका व्यक्ति, ६१ जना आंशिक अपाङ्गता भएका व्यक्तिलगायत ७ हजार ७ सय ८२ जनाले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने जिल्ला विकास समितिकी सूचना अधिकारी ममता महतले बताइन् ।

लिमिका २ सय २ जना र सिमकोटका २ सय ५८ जनाले समाजिक सुरक्षा भत्ता पाएको भए पनि अन्य २५ ओटा गाविसका ७ हजार ३ सय २२ जनाले भत्ता नपाएको सिमकोट गाविसका सचिव धर्मराज रोकायाले बताए ।

जिल्ला विकास समितिबाट अख्तियारी दिएको ३५ दिनभित्र सचिवले सामाजिक सुरक्षा भत्ता वितरण गर्नु पर्ने कानुनी प्रवधान भएपनि सचिवले वितरण नगरेको पाइएको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण अहिलेसम्म नगर्नु भनेको सचिवको लापरबाही नै भएकाले त्यस्तो लापारबाही नगर्न स्थानीय विकास अधिकारी बलदेवप्रासद जोशीले आग्रह गरेका छन् ।

समयमै भत्ता वितरण नगरेमा गाविस सचिवलाई कारबाहीसमेत गर्न सकिने भन्दै स्थानीय विकास अधिकारी जोशीले कठोर कदम चालिने बताए ।

 

अन्य

भिडियो