१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बैतडी जिल्ला पाटन नगरपालिका–४ का १९ वर्षीय सागर भट्ट र सोही नगरपालिका–३ का २८ वर्षीय अमरराज अवस्थीलाई सर्वोच्च अदालतले जनही साढे ११ वर्ष कैद सजाय सुनाएको छ ।
मङ्सिर २ गते न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले तत्कालिन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै जनही साढे २ लाख रुपियाँ क्षतिपूर्तिसहित साढे ११ वर्ष जेल सजायको फैसला सुनाएको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको हो ।
सर्वोच्चले कसूरदार दुई जनाबाट जनही साढे २ लाख गरी ५ लाख रुपियाँ र सरकारका तर्फबाट ५ लाख गरी पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति भराउने पनि आदेश दिएको ढकालले जानकारी दिए ।
बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपियाँ जरिबाना सुनाएको थियो ।
तर, २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुवै जनालाई सफाइ दिएको थियो ।
पुनरावेदनको फैसलाविरूद्ध सरकारी वकिल कार्यालयले २०७१ मङ्सिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
सर्वोच्चमा न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयालको इजलासले ०७६ कात्तिक ७ गते पुनरावेदन अदालतको फैसला उल्ट्याएको थियो । तर, सजाय तोक्न बाँकी थियो ।
२०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि रहेकी पीडित बालिकालाई भट्ट र अवस्थीले बलात्कार गरेको आरोप थियो ।
पीडित बालिकालाई बेहोस बनाउने सुई लगाई अचेत अवस्थामा सामूहिक बलात्कार गरेको भनी पीडित बालिकाले प्रहरीमा उजुरी दिएकी थिइन् ।