विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बोहोरा र प्रधानाध्यापक प्रकाश जैसीले विद्यालय व्यवस्थापन समिति गठनमा एकल निर्णय गरी नयाँ व्यवस्थापन समिति गठन चयन गरेको भन्दै बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकाद्वारा नौ दिनदेखि विद्यालयमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको छ ।
साहारा समूहमा आश्रय लिएर हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयमा अध्ययन गर्दै आएका सिमकोट गाउँपालिका–५ मा स्थापित विद्यालयका बालबालिकाहरूले कात्तिक २३ गतेबाट तालाबन्दी गरेका हुन् ।
हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयमा अध्ययनरत ५७ जना बालबालिकाहरूले सो तालाबन्दी गरेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिमकोट गाउँपालिका–५ का वडा अध्यक्ष कृष्ण बोहराले आफूखुसी बालबालिकाका अभिभावक बिना नै गोप्य रूपमा बैठक राखेर विद्यालय व्यवस्थापन समिति गठन गरेको आरोप छ ।
अध्यक्ष र प्रधानाध्यापकविरूद्ध आर्थिक वर्ष २०७५/७६ को अभिभावक भेला तथा सार्वजनिक लेखापरीक्षण नगरेको, विद्यालयका सम्पूर्ण कागजपत्र प्रधानाध्यपकको घरमा राखी अध्यक्षले आफूखुसी सञ्चालन गर्ने गरेको आरोप छ ।
साहारा समूहका निर्देशक सुर्य पौडेलले सिमकोट गाउँपालिकाको शिक्षा नियमावली विपरीत गैरकानुनी तवरले सरकारी विद्यालयलाई व्यक्तिगत सम्पति जसरी आफुखुसी सञ्चालन तथा व्यवस्थापन गर्न खोजेको भन्दै सोही विद्यालयमा अध्ययनरत बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकाले विद्यालय तालाबन्दी गरेको आरोप लगाए ।
प्रधानाध्यपक जैसीले भने विद्यार्थीले तालाबन्दी गरे लगतै शिक्षा विकास तथा समन्वय एकाईमा कात्तिक २४ गते जानकारी गराए पनि कुनै सुनुवाइ नभएको बताए ।
व्यवस्थापन समितिका अध्यक्ष बोहोराले समितिको बैठक बसालेर मात्रै ताला खोलिने बताए ।