INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र विद्यार्थीले छात्रवृत्ति पाएनन्

पर्साको जगरनाथपुर गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ को साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन ।

ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई चाडबाडको समयमा समेत भत्ता वितरण नहुँदा आर्थिक कठिनाइ भोग्नु परेको जगरनाथपुर गाउँपालिका–१ निवासी भोला राउतले गुनासो गरे ।

जगरनाथपुर गाउँपालिका भित्र करिब १ हजार ७ सय ज्येष्ठ नागरिक र एकल महिलाको सङ्ख्या रहेको छ । सबै वडाबाट २ करोड ५ लाख रुपियाँ बराबरको माग आएको प्रमुख कार्यकारी अधिकृत अमित गिरीले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिकामा २९ ओटा विद्यालयहरू रहेका छन् । ती विद्यालयमा अध्ययनरत छात्र छात्राले समेत छात्रवृत्ति पाएका छैनन् ।

गाउँपालिकाको कार्यालयले सम्पूर्ण विद्यालयको खातामा शैक्षिक सत्रको सुरूमै छात्रवृत्तिको रकम पठाइसकेकोे जानकारी गराएको छ ।

छात्रवृत्तिको रकम सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले व्यक्तिगत काममा चलाएको हालै मात्र सरुवा भएर आएका प्रमुख कार्यकारी अधिकृत अति गिरीले विद्यार्थीहरूले छात्रावृत्तिको रकम नपाएको जानकारी भएको बताए ।

उनले शैक्षिक क्षेत्र निकै भद्रगोल भएकाले सुधारका लागि पहल भइरहेको भन्दै एक साता भित्र छात्रवृत्ति पनि वितरण हुने बताए । उनका अनुसार गाउँपालिकामा लामो समयदेखि अधिकृत नहुँदा समस्या आएको हो ।

बाल संरक्षण भत्ताका लागि दलित बालबालिकाको तथ्याड्क सङ्कलन गर्न सम्पूर्ण वडा कार्यालयलाई निर्देशन दिइसकेको उनको भनाइ छ ।

नेपाल सकारको निर्देशन अनुसार सामाजिक सुरक्षाभत्ता बैङ्कमार्फत् भुक्तानी दिनुपर्ने भएको तर सबै लाभग्राहीहरूको बैङ्कमा खाता नभएकाले समस्या भएको गिरीको भनाइ छ । उनले एक साताभित्र घरदैलोमा पुगेर गाउँपालिकाले भत्ता वितरण गर्ने बताएका छन् ।

अन्य

भिडियो