INSEC Online

📅 २०८३ जेष्ठ २१

एम्बुलेन्स सेवा नहुँदा बिरामी मर्कामा, बिरामी बोक्न स्ट्रेचर र डोको प्रयोग गर्नुपर्ने बाध्यता

जिल्लाका चारओटा स्थानीय तहमा एम्बुलेन्स सेवा नहुँदा बिरामी मर्कामा, बिरामी बोक्न स्ट्रेचर र डोको  प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

गत महिना स्थानीय नेर्पा स्वाथ्य चौकीले रिफर गरेपछि त्रिवेणी गाउँपालिका–५ का तेजविक्रम डाँगीले आमाको उपचार गर्न तत्काल जिल्ला बाहिर लैजानुपर्ने भएपछि तुलसीपुरसम्म निजी गाडीलाई १२ हजार रूपिँया भाडा तिर्नुपर्‍यो ।

गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा डाँगी जस्तै यहाँका सबै नागरिकले महङ्गो भाडा तिरेर दाङबाट जीप मगाउनुपर्ने बाध्यता रहेको छ ।

नेर्पा स्वास्थ्य चौकीले यो महिना मात्र दुई जना जटिल प्रसूति सेवाका लागि बाहिर रिफर गरेको थियो । रातको समयमा रिफर गरिएकालाई एम्बुलेन्स सेवा नहँुदा गाडी मगाउन धेरै समस्या भएको स्वास्थ्य चौकी प्रमुख मोतिकला केसीले जानकारी दिइन् ।

‘गाउँपालिकामै एम्बुलेन्स सेवा भए राम्रो हुन्थ्यो ।’–केसीले भने । त्रिवेणी गाउँपालिका मात्रै होइन रोल्पाका चार ओटा गाउँपालिकामा एम्बुलेन्स सेवा नहँुदा स्थानीयले सार्वजनिक गाडी तथा स्ट्रेचर र डोकोको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

त्रिवेणी गाउँपालिकाले यस वर्ष खरिद गर्ने निर्णय गरेको भएता पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन ।

जतिसक्यो छिटो एम्बुलेन्स सेवा प्रदान गर्ने तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताए ।

त्यस्तै जिल्लाका सुनछहरी, लुङ्ग्री र गङ्गादेव गाउँपालिकामा पनि अहिलेसम्म एम्बुलेन्स छैन । भुगोल पनि नमिलेको र सबै ठाउँमा सडक पनि नपुगेकाले एम्बुलेन्स खरिद नगरेको सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए ।

लुङ्ग्री गाउँपालिकाले प्रदेशको सामाजिक विकास मन्त्रालयमा एम्बुलेन्स माग गरेको भएपनि अहिलेसम्म प्राप्त नभएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बताए । मन्त्रालयबाट प्राप्त नभए आफैँ खरिद गर्ने उनको भनाइ छ ।

एम्बुलेन्स नभएका कारण महङ्गो गाडी भाडा तिर्नु पर्छ भने आर्थिक अवस्था कमजोर भएकाहरू डोको वा स्ट्रेचरमा बिरामी बोकेर पुर्‍याउनु पर्ने हुँदा जटिल अवस्था भएका बिरामीहरूले समयमा उपचार पाउन नसके ज्यान जोखिम पर्न सक्ने खतरा रहेको छ ।

photo20191116rolpa

अन्य

भिडियो