संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ भनी उल्लेख गरिएको भए पनी डोटी जिल्लाका १० ओटा वडाका सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् ।
स्वास्थ्य चौकी नभएका कारण वड्डीकेदार गाउँपालिका– २, दिपायल सिलगढी नगरपालिका–३, ४ र ७, आदर्श गाउँपालिका–३, सायल गाउँपालिका–२, ५ र ६ र शिखर नगरपालिका–३ र ८ गरी १० ओटा वडाका स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् ।
वडामा स्वास्थ्य चौकी नभएका कारण आफूहरूले सामान्य प्रकृतिको स्वास्थ्य सेवा लिनका लागि सास्ती बेहोर्नु परेको स्थानीयको गुनासो रहेको छ ।
आफ्नो वडामा स्वास्थ्य कार्यालय नहुँदा उपचारको लागि टाढाको वडामा रहेको स्वास्थ्य चौकी जानु पर्ने बाध्यता रहको शिखर नगरपालिका–३ का करन जोराले दुखेसो पोखे ।
उनले भने–‘स्वास्थ्य चौकी नभएका कारण, अपाङ्गता भएका अशक्त र गर्भवती महिलाले सास्ती भोग्नु परेको छ । मापडण्ड अनुसारका स्वास्थ्य कार्यालय हाम्रो वडामा पनि चाहिन्छ ।’
वडामा स्वास्थ्य चौकी नभएका कारण समान्य उपचारका लागि पनि निजी अस्पतालमा धाउनु पर्ने र अनावश्यक रकम खर्चिनु पर्ने बाध्यता रहेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीय मदन बिकले बताए ।
उनले भने–‘स्थानीय सरकार आएको भएपनि सामान्य सुविधासमेत पाउन सकिएन । स्वास्थ्य चौकीबाट पाउने सुविधा पनि पाउन सकिएको छैन ।’
जिल्लामा रहेका ६५ ओटा वडामध्ये अहिले पनि १० ओटा वडाहरू स्वास्थ्य चौकीविहीन रहेको स्वास्थ्य कार्यालय, डोटीका सूचना अधिकारी महेश बोहराले बताए ।
उनले भने–‘गाउँपालिका र नगरपालिका अन्तर्गतका १० वटा वडाहरूमा स्वास्थ्य चौकी नभएका कारण यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या भएको छ ।’
नेपाल सरकारबाट स्वीकृत मापदण्ड अनुसार जिल्लाका नौ ओटा स्थानीय तहका ६५ वडाहरूमध्ये ५५ ओटा वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच ओटा स्थानीय तहका १० ओटा वडा अहिले पनि स्वास्थ्य संस्था विहीन रहेको स्वास्थ्य कार्यालय, डोटीका कार्यालय प्रमु्ख रमेश मलासीले बताए ।
उनले भने–‘संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको नागरिकको स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न नसक्नु दुखद् कुरा हो । जिल्लामा स्वास्थ्य चौकीविहीन वडाहरूमा चालु आर्थिक वर्ष भित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहिल गरिएको छ । स्वास्थ्य संस्था स्थापनाका लागि स्थानीय तहसँग सिफारिस माग गरी मन्त्रालयमा पठाउने काम भएको छ ।’
स्वास्थ्य चौकीविहीन वडामा स्वास्थ्य चौकी स्थापनाका लागि पहलकदमी भइरहेको र स्वास्थ्य चौकीविहीन वडाका नागरिकहरूलाई सुलभ तथा छरितो सेवा दिनका लागि नगरपालिकाले योजना बनाइरहेको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बताए ।