सिस्ने गाउँपालिका–५ र ६ वडाका सुत्केरी महिलाले साउन महिनादेखि सुत्केरी प्रोत्साहन भत्ता पाउन सकेका छैनन् ।
सिस्ने गाउँपालिका–५ रूकुमकोटस्थित जिल्ला अस्पतालमा प्रसूति भए पनि नियमअनुसार भत्ता नपाएको उनीहरूको गुनासो छ ।
सिस्ने गाउँपालिका–५ की भावना मल्ल जिल्ला अस्पतालमा साउन महिनामा सुत्केरी भएपनि यातायात र प्रोत्साहन स्वरुप दिइने रकम नदिएको गुनासो गर्छिन् ।
उक्त अस्पतालबाट साउन महिनादेखि ३० जना महिलाले त्यस्तो रकम नपाएको जिल्ला अस्पतालले जनाएको छ ।
‘त्यतिबेला आफूलाई त भत्ता बुझ्ने होस् नै भएन । पीडाले ध्यान पनि गएन ।’–सिस्ने गाउँपालिका–६ की दिविका कुवँरले भनिन्–‘अस्पतालका कर्मचारीले वहाँ (पति)लाई अहिले पैसा छैन पछि दिउँला भनेका रहेछन् ।’
गर्भवति भएदेखि नियमित स्वास्थ्य चेकजाँच गरे बापातको ८ सय रुपियाँ र स्वास्थ्य संस्थामा जान यातायात बापत २ हजार रुपियाँ गरी जनही २ हजार ८ सय रुपियाँ नेपाल सरकारले स्वास्थ्य संस्थामार्फत दिनुपर्ने प्रावधान छ ।
गाउँपालिकाकी अध्यक्ष कुमारी बरालका अनुसार सङ्घीय सरकारले दिने गरेको प्रोत्साहन भत्ता तथा यातायात खर्चमा यस गाउँपालिकाले थप ९ सय रुपियाँ सहयोग गर्दै आएको छ ।
गाउँपालिकाले यातायात खर्च भनेर प्रति सुत्केरी ५ सय र अन्तिम सम्ममा गर्भ जाँच गरेकाका लागि भनेर थप ४ सय रुपियाँ दिँदै आएको उनले बताइन् ।
‘त्यसको साथै स्वास्थ्य संस्थामार्फत गर्भ जँचाउन आउने हरेक गर्भवतीलाई ४ किलो आयोडिनयुक्त नुनका साथमा १ लिटर तेल दिने व्यवस्था गरेका छौँ ।’–उनले भनिन् ।
सिस्ने गाउँपालिकाले दिने ९ सय रुपियाँसहित सङ्घीय सरकारले दिने गरेको प्रोत्साहन भत्तासँग हरेक सुत्केरी हुने महिलाले नगद ३ हजार ७ सय रुपियाँ प्रोत्साहन तथा यातायात खर्चबाफत पाउने गरेका छन् ।
सुत्केरी भएकै दिन प्रोत्साहन तथा यातायात खर्च पाउनु पर्नेमा कर्मचारी समायोजनका कारणले दिन नसकिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिमला रोका श्रेष्ठले बताइन् ।
सुत्केरी प्रोत्साहन भत्ताको रुपियाँ निकासा गरेर वितरण गर्ने अधिकार स्वास्थ्य चौकीका इञ्चार्जलाई भएको प्रमुख प्रशासकीय अधिकृत रोकाले बताइन् ।
स्वास्थ्यचौकीका इञ्चार्ज समायोजनमा अन्यत्र गएपछि प्रोत्साहन भत्ता वितरण गर्नमा रोकिएको बताइन् । कात्तिक महिनादेखि कर्मचारी आएकाले केही दिनमा नै वितरण गरिने अधिकृत रोकाले बताइन् ।
नेपाल सरकारले मातृ मृत्युदर र बाल मृत्युदर घटाउन सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सुत्केरी प्रोत्साहन भत्ता प्रदान गर्दै आएको छ ।