मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका कात्तिक २७ गते सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता भएको छ ।
नगर प्रमुख पदका लागि २३ जनाले उम्मेवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, समाजवादी पार्टीबाट १२ जना र स्वतन्त्र १० जना गरी २३ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए ।
नेकपाका तर्फबाट प्रकाश राई, नेपाली कांग्रेसबाट तिलक राई, समाजवादी पार्टीका तर्फबाट गजेन्द्रबहादुर लिम्बू, सङ्घीय लिम्बूवान मञ्च नेपालका अमर इजम, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, राप्रपाबाट रोशन विश्वकर्मा, राप्रपा संयुक्तबाट कुमार बराईली, नेकपा मालेबाट एकराज सुब्बा, राप्रपा लोकतान्त्रिकबाट भिमबहादुर लिम्बु, सङ्घीय खुम्बुवान लोकतान्त्रिकका एलिसा राई, आमुल परिवर्तन मसियहा पार्टीका छत्रबहादुर बिकलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै धरान उपमहानरपालिकाको प्रमुखमा स्वतन्त्रबाट हर्कराज राई, राजनकुमार श्रेष्ठ, अमृतकुमार राई, जनार्दन कोइराला, मनराज राई, रुद्र बस्नेत, दावा शेर्पा, श्यामकृष्ण पहाडी भुजेल, कुमार भट्टराई, विशाल थापा, दिनेश श्रेष्ठलगायतले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी धरान उमनपा–७ को वडाध्यक्षका लागि नेकपाका जीवनराज सुवेदी, नेपाली कांग्रेसका सुवर्णमोहन पलिखे, सङ्घीय लिम्बूवान मञ्चकी निता राई, राप्रपाका दिनेश शाक्य सहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।



सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्षको लागि खाँदबारी नगरपालिका–३ का वडाध्यक्षको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता भएको छ ।
मकालु गाउँपालिका अध्यक्षको लागि सात दल र खाँदबारी नपा–३ को वडाध्यक्षको लागि दुई ओटा दलको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले बताए ।
मनोनयका समयमा संवेदनशील मतदानस्थलहरू समेत तोकिएकाले सुरक्षा व्यवस्था कडा बनाएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको भनाइ छ ।