बढैयाताल गाउँपालिका–३ सोरहवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनादेखि डाक्टरविहीन रहेको छ । डाक्टर नभएका कारण स्वास्थ्य केन्द्रको सेवा प्रभावित बनेको छ ।
कार्यरत डाक्टर एलिसा रसाइली अध्ययन विदामा बसेपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको हो ।
गत साउन महिनामा अध्ययनको लागि प्रवेश परीक्षा तयारीका लागि तीन महिना घर विदामा बसेकी थिइन् । अर्को डाक्टर नआएपछि सेवाग्राहीहरू मर्कामा परेका हुन् ।
डा. रसाइलीको ठाउँमा शुक्रराज अस्पताल टेकुबाट डा .सुवर्ण श्रेष्ठ समायोजनमा परी प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा आउने जानकारी भएपनि अहिलेसम्म नआएको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख किशोर श्रेष्ठले बताए ।
स्वास्थ्य केन्द्रमा गर्मी महिनामा दैनिक १ सय ५० र जाडो महिनामा २५ जनासम्म बिरामीहरू स्वास्थ्य जाँच र उपचारको लागि आउने गर्दछन् ।
वार्षिक औसतमा १५ हजार मानिसले स्वास्थ्य केन्द्रमा उपचारको लागि आउने गरेको तथ्याङ्कले देखाउँछ ।
मेडिकल अधिकृत (डाक्टर) नहुँदा धेरै बिरामीलाई नेपालञ्ज र कोहलपुर रिफर गर्नु पर्ने बाध्यता रहेको श्रेष्ठले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृत डाक्टर रहने नीतिगत व्यवस्था रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोरहवालाई स्तरोन्नति गर्दै सरकारले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको छ ।
स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि कहिल्यै उपस्थित नभएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिमा पूर्व अध्यक्ष हरिबहादुर घर्तीले बताए ।
डाक्टरले नियमित रूपमा सेवा नदिँदा सेवाग्राही उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको र यसले आर्थिक तथा समय खर्च हुने गरेको बताउँदै यसलाई रोक्न सम्बन्धित निकायमा पटकपटक आग्रह गरेपनि सुनवाइ नभएको उनले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा मडिकल अधिकृत एक, हेल्थ असिस्टेन्ट एक, स्टाफ नर्स एक, अहेव तीन, अनमी तीन, ल्याव असिसटेन्ट एक र कार्यालय सहयोगी तीन गरी १३ जनाको दरबन्दी रहेको छ ।
अहेव एक, अनमी दुई जना करारमा कार्यरत रहेका छन् । अन्य स्वास्थ्यकर्मी नियमित भए पनि मेडिकल अधिकृत डाक्टर भने कहिल्यै नियमित छैनन् ।
बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विष्णु पौडेलले डाक्टर अध्ययन विदा गएको कारण स्वास्थ्य केन्द्रबाट मेडिकल अधिकृत डाक्टरको सेवा दिन नसकेको स्वीकार गरे ।
तत्कालै अर्को डाक्टरको व्यवस्था गर्न प्रदेश सरकारको स्वास्थ्य विभागमा पहल गरिरहेको पौडेलले बताए ।


