नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिको समन्वय तथा कर्णाली प्रदेश सरकारद्वारा मुलुकमै पहिलो पटक अघि सारेको पत्रकार दुर्घटना बीमा कार्यक्रमले राहत भएको लाभग्राही पक्षले जनाएको छ ।
पत्रकारहरूको आत्मबल बढाउन, सुरक्षाको अनुभूति दिलाउन र दुर्घटनामा परेका पत्रकारहरूलाई राहत पुर्याउने उद्देश्यले कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ०७५ चैत २२ गतेदेखि कर्णाली प्रदेशका सबै पत्रकारहरूका लागि दुर्घटना बीमा कार्यक्रम ल्याएको थियो ।
पत्रकार दुर्घटना बीमा कार्यक्रम घोषणापछि यस प्रदेशका २ सय ८८ जना पत्रकारहरू बीमित रहेको नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिका महासचिव दीपेन्द्र शर्माले बताए ।
कार्यक्रम अन्तर्गत दुर्घटनामा घाइते भएका पत्रकारलाई ३ लाख रुपियाँसम्म प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रावधान रहेको महासचिव शर्माले बताए ।
बीमा कार्यक्रम अन्तर्गत नै दुर्घटनामा परी जेठ २९ गते मृत्यु भएका पत्रकार नन्दु गेलाङ्गका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले २ लाख ५० हजार रुपियाँ प्रदान गर्यो ।
यस्तै मष्तिष्कघातबाट पीडित नेपाल पत्रकार महासङ्घ, हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहोरा र बोनम्यारो रोगबाट पीडित सुर्खेतका पत्रकार डिलप्रसाद शर्माको उपचार खर्चका लागि कर्णाली प्रदेश सरकारले हालै ५ लाख रुपियाँ नगद सहयोग गर्ने निर्णय समेत गरेको जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाज रूपान्तरण, मुलुकको समृद्धि, मानव अधिकारको संरक्षण तथा सामाजिक न्यायका लागि अहोरात्र खटिने पत्रकारहरूको पिरमर्कालाई आत्मसात् गर्दै पत्रकार दुर्घटना बीमा कार्यक्रम ल्याइएको बताए ।