नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व जिल्ला सदस्य कावासोती नपा–८ बस्ने ३२ वर्षीय अनिल परियारलाई प्रहरीले कात्तिक २४ गते अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।
गत साउन १६ गते कावासोती–१० मा रहेको एनसेल टावरमा आगजनी गरेको मुद्दामा जिल्ला अदालत, नवलपुरमा उपस्थित भएका परियारलाई कात्तिक २४ गते नवलपुर जिल्ला अदालतले २० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।
धरौटीमा रिहा भएका परियारलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को टोलीले अदालत परिसर बाहिरबाट गिरफ्तारगरेको हो ।
परियारलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
हिरासतमा रहेका परियारसँग इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्मा र जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले कात्तिक २५ गते भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए ।
सो क्रममा परियारले कात्तिक ४ गते नै पार्टी परित्याग गरिसकेको र कात्तिक १५ गते नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको भन्दै जिल्लामा भएको आगजनीमा आफ्नो संलग्नता नभएको बताएका थिए ।