INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व जिल्ला सदस्य कावासोती नपा–८ बस्ने ३२ वर्षीय अनिल परियारलाई प्रहरीले कात्तिक २४ गते अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।

गत साउन १६ गते कावासोती–१० मा रहेको एनसेल टावरमा आगजनी गरेको मुद्दामा जिल्ला अदालत, नवलपुरमा उपस्थित भएका परियारलाई कात्तिक २४ गते नवलपुर जिल्ला अदालतले २० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

धरौटीमा रिहा भएका परियारलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को टोलीले अदालत परिसर बाहिरबाट गिरफ्तारगरेको हो ।

परियारलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

हिरासतमा रहेका परियारसँग इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्मा र जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले कात्तिक २५ गते भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए ।

सो क्रममा परियारले कात्तिक ४ गते नै पार्टी परित्याग गरिसकेको र कात्तिक १५ गते नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेको भन्दै जिल्लामा भएको आगजनीमा आफ्नो संलग्नता नभएको बताएका थिए  ।

अन्य

भिडियो