पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीकी ५० वर्षीया खगेश्वरी केसीले आफू पतिबाट पीडित भएको भन्दै पर्वत जिल्लाका इन्सेक प्रतिनिधि समक्ष न्याय दिलाउन निवेदन दिएपछि महिलाले न्याय पाएकी छिन् ।
इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाको पहलमा जिल्ला प्रहरी कार्यालय पर्वतको रोहबरमा पीडित महिलालाई न्याय दिलाइएको हो ।
पतिले अर्को विवाह गरेपछि आफूलाई र चार छोरी र एक छोरालाई पालन पोषणमा आवश्यक सहयोग नगरेको भन्दै न्याय माग्दै असोज २४ गते इन्सेक पर्वतमा निवेदन दिएकी थिइन् ।
इन्सेक प्रतिनिधि थापाले महिलाको तर्फबाट पति रुद्रबहादुर क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा असोज २९ गते घरेलु हिंसाविरुद्ध उजुरी दर्ता गराएका थिए ।
पीडित महिलाले यसअघि ०७२ साल चैत १३ गते इन्सेककै पहलमा पतिले खाइपाइआएको रकमको तीन भागको एक भाग दिलाउने लिखित सहमति गरेपनि पति रुद्रबहादुर क्षेत्रीले सहमति अनुसार दिएका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतको महिला तथा बालबालिका सेवा केन्द्रमा २९ नम्बर मुद्दा अन्तर्गत उजुरी दर्ता भएको थियो ।
उजुरी दर्ता पश्चात् पतिपत्नी दुवैलाई छलफलमा उपस्थित गराई इन्सेक प्रतिनिधिको रोहबरमा कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय पर्वतले सहमति गराएको छ ।
सहमति अनुसार साउन १ गतेदेखि लागु हुने गरी पति रुद्रबहादुर क्षेत्रीले मासिक १० हजार ५ सय रुपियाँ प्रदान गर्ने र सहमति उल्लङ्घन गरेमा कानुनी कारवाही भोग्ने गरी सहमति भएको छ । पीडित महिलाका पति राम्जादेउराली अन्तर्गतकै शिद्ध प्राविमा स्थायी शिक्षकको रुपमा कार्यरत छन् ।