INSEC Online

📅 २०८३ जेष्ठ २१

मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका अस्थायी शिक्षक गिरफ्तार

प्रदेश २ मुख्यमन्त्रीको कार्यालयमा कात्तिक १९ गते तालाबन्दी गर्न पुगेका ६० जना शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूलाई स्थायी गर्न लिएको परीक्षामा असफल भएका ६० जना शिक्षकहरूले प्रदेश २ को मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूलाई कार्यालय प्रवेशमा अवरोध गर्दै कार्यालयमा तालाबन्दी गर्न खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

गिरफ्तार पर्नेहरूमा अस्थायी शिक्षक सङ्घर्ष समितिका संयोजक ५५ वर्षीय धर्मेन्द्र यादव, धनुषाका अस्थायी शिक्षक ३५ वर्षीय इन्द्रकुमारी यादव, ४५ वर्षीय हेमशङ्कर दाहाल, ४३ वर्षीय रामकुमार यादव, ५० वर्षीय गौरीशङ्कर साह, ४० वर्षीय रविन्द्र कुमार गोइत, ४५ वर्षीय रामउदगार यादव, ४१ वर्षीय कृष्ण कुमार झालगायत रहेका छन् ।

गिरफ्तार परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको पाँच घण्टापछि रिहा गरेको जनाएको छ ।

यसअघि पूर्व अस्थायी शिक्षक सङ्घर्ष समितिका प्रदेश २ संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय अगाडि कात्तिक १८ गते दिउँसो २ः५० देखि ३ः२० सम्म चक्काजाम गरेका थिए ।

त्यसअघि अस्थायी शिक्षकहरूले असार २० गतेदेखि साउन २० गतेसम्म प्रदेश २ मुख्यमन्त्रीको कार्यालय अगाडि निरन्तर एक महिनासम्म धर्ना दिएका थिए ।

अन्य

भिडियो