चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको स्वास्थ्यचौकी । स्वास्थ्यचौकी स्थापना भएको २४ वर्ष भयो । पहिले स्थानीयकै पहलमा निर्माण भएको सानो भवन थियो । कच्ची भएकाले धेरै समय टिकेन । त्यो भवन भत्किएपछि अहिले स्थानीय तिलकुमारी बलालको घरबाट स्वास्थ्यचौकी सञ्चालन भएको छ । त्यो पनि पिँढीबाट ।
सानो कोठामा कार्यालय प्रमुख, कार्यालयका सबै सामग्री, औषधि राखेकाले दिउँसोभर बिरामीहरूलाई पिँढीमै उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी व्यावस्थापन समिति अध्यक्ष समेत रहेका वडाध्यक्ष किरण शाहाले बताए ।
स्वास्थ्यचौकीमार्फत दैनिक २० देखि २५ जना बिरामीहरूले सेवा लिने गरेका छन् । भवन अभावका कारण पिँढीमा स्वास्थ्य जाँच गर्नुपर्ने भएकाले महिला तथा जटिल स्वास्थ्य समस्या भएकाहरूको गोपनियतामा समेत प्रभाव परिरहेको हर्राचौर स्वास्थ्यचौकीकी अनमी गङ्गा न्यौपानेले बताइन् ।
उनले महिलाहरूको स्वास्थ्य जाँच गर्न परे कार्यालय प्रमुखले कार्यकक्ष छोडनुपर्ने अवस्था आउने गरेको बताइन् ।
चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले भवनको बजेट धेरै लाग्ने भएकाले स्थानीय तहसँगै प्रदेश र केन्द्रमा पनि पहल थाल्ने बताए ।
उनले यो आर्थिक वर्षमा गाउँपालिकाबाट २५ लाख रुपियाँ विनियोजन गरेर फिल्ड निर्माणको काम गरेको बताए । अब प्रदेश वा केन्द्रबाट बजेटको व्यावस्था भए भवन निर्माण गर्न सकिने खत्रीको भनाई छ ।
हर्राचौर स्वास्थ्यचौकी कात्तिक १४ र १५ गते कार्यालय सहयोगीले खोलिन मात्रै । स्वास्थ्यचौकीमा दुई जना अहेव, दुई जना अनमी र कार्यालय सहयोगीको दरबन्दी छ ।
अहिले अस्थायी करार अहेव एक र स्थायी एक जना अनमी कार्यरत छन् । अरू सबै समायोजनले गए । करार अहेव र अनमी तिहार बिदामा घर गए ।
त्यसैले कार्यालय सहयोगी मिना बिकले कार्यालय खोलिन । समायोजनले भएका कर्मचारी गएको र आउनेहरू अझै नआएकाले सहयोगीले कार्यालय खोल्ने मात्रै अवस्था रहेको चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रकाश शर्मा पौडेलले बताए ।
अहिले हर्राचौर स्वास्थ्यचौकीमा अनमी गङ्गा न्यौपाने, बिसुखर्क स्वास्थ्यचौकीमा कल्पना केसी र दिव्रुङ्ग स्वास्थ्यचौकीमा सिता शर्माको काँधमा नियमित गाउँघर खोप संचालन र कार्यालयको सेवा प्रवाह थपिएको छ ।
चन्द्रकोट गाउँपालिकाका गाउँ–गाउँका स्वास्थ्य संस्थाहरूमा कर्मचारी अभाव भएपछि खोप सेवा सञ्चालन नै प्रभावित हुने अवस्था आएको छ ।
एउटा वडामा कम्तीमा तीन स्थानमा खोप केन्द्र रहेका छन् । त्यस स्थानमा कार्यालयको अहेव र अनमी पुगेर खोप लगाउने गर्छन् ।
तर, स्वास्थ्यचौकीहरूमा अहेव नै छैनन् । उनले स्वास्थ्यचौकीमा रहेका एक जना अनमी गाउँ गए सेवा प्रवाह र कार्यालयमै बसे नियमित खोप सेवा प्रभावित बन्ने अप्ठ्यारो स्थिति आएको चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रकाश शर्मा पौडेलले बताए ।
राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्रले गत वर्ष हर्राचौर स्वास्थ्यचौकीको सामाजिक परीक्षण गरेको थियो ।
समाजिक परीक्षण गर्ने संस्थाका प्रमुख रेशम कुँवरले हर्राचौर स्वास्थ्यचौकीको अवस्था अत्यन्तै नाजुक भएको बताए ।
सामाजिक परीक्षण प्रतिवेदनमा समेत स्वास्थ्यचौकी भवनको अभावमा परेको असरको बारेमा उल्लेख गरिएको छ ।
