सडकमा रक्ताम्मे भेटिएका तातोपानी गाउँपालिका–१ राँका गाउँका ६० वर्षीय मुसो दमाईलाई सडकमा ढलिरहेको अवस्थाबाट उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा उपचारका लागि पु¥याइएको छ ।
लामो समयदेखि सडकमा बसिरहेका अपाङ्गता भएका दमाईलाई विक्षिप्त अवस्थामा सडकमा भेटेपछि इन्सेक प्रतिनिधि, हाँकु प्रहरी चौकीका प्रतिनिधिलगायत सञ्चारकर्मी र स्थानीयहरूले तातोपानी गाउँपालिकाको कार्यालयलाई उनको अवस्थाबारे कात्तिक १४ गते टेलिफोनमार्फत् जानकारी गराएका थिए ।
खाने र बस्ने कुनै आधार नभएपछि सडकमा ह्वीलचेयरको सहयोगमा जीवन बिताइरहेका दमाई कर्णाली राजमार्गको लाम्राखण्ड अन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय सहकारी संस्था नजिकै शरीरमा रगत बगिरहेको अवस्थामा भेटिएपछि स्थानीयले रकम सङ्कलन समेत गरेका थिए । मिर्गौलामा समस्या भएका दमाईलाई हाँकु प्रहरी चौकीको गाडीमा अस्पताल पुर्याइएको थियो ।
ह्वीलचियर लडेर नालीमा खसेपछि तीनदिनदेखि सडकमै छटपटाएर बसेको उनको भनाई छ । ‘तिहारको दिनमा पनि राम्रोसँग खाना खान पाइएन ।’–उनले भने–‘छाक टार्नका लागि अर्को गाउँ हिँड्दै थिएँ । एउटा गाडी माथिबाट आयोे, म तलबाट ह्वीलचेयरमा आउँदै थिए, छेउ लाग्दै थिएँ, नालीमा लडेर पुरानो घाउबाट निरन्तर रगत बग्न थाल्यो ।’
‘तिहारको अघिल्लो दिनबाट तिघ्राबाट रगत बगेर सडकमै थिएँ । अस्पताल आउन खोज्दा कुनै गाडीले पनि ल्याउन मानेनन् र खान पनि पाइनँ ।’–दमाईले भने ।
आफू घाइते भएर काम गर्न नसक्ने भएपछि पत्नीले पनि छाडेर गएको र आफ्नो सहारा कोही नभएको उनले बताए ।
दायाँ गोडामा रहेको उनको पुरानो घाउबाट निरन्तर रगत बगेर सडक पनि रातै भएको थियो । ‘दिसापिसाव सबै शरीरमै भएको देखिएपछि सबै मिलेर ९ हजार रुपियाँ पनि सङ्कलन गरेका थियौँ । त्यसपछि स्थानीय प्रशासन, सञ्चारमाध्यम र प्रहरीमा खबर गर्यौँ ।’–तातोपानी गाउँकार्यपालिका सदस्य तथा स्थानीय आदिप्रसाद न्यौपानेले बताए ।
दमाईको निःशुल्क उपचार सुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले गोडामा घाउ भएका दमाईको निःशुल्क उपचार गर्ने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।
विपन्न नागरिकको उपचारको घर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले प्रतिष्ठानले उनलाई निःशुल्क उपचार गर्ने काफ्लेको भनाई छ ।
उनकोे उपचारमा प्रतिष्ठानका हड्डी विशेषज्ञ डाक्टर मङ्गल रावलसहितको चिकित्सकको टोली खटिएको डाक्टर काफ्लेले जानकारी दिए ।