INSEC Online

📅 २०८३ जेष्ठ २२

मूर्ति विसर्जनका क्रममा झडप पछि कर्फ्यु, प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

कृष्णनगर नपा–२मा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा कात्तिक १३ गते हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । मूर्ति विसर्जन गर्न जाने क्रममा  राती १० बजे दुवै पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।

झडपले ठुलो रूप लिनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । उक्त कर्फ्युको अवज्ञा गरेको भन्दै कात्तिक १४ गते प्रहरीले प्रहार गरेको गोलीबाट कृष्णनगर नपा–२ मा चिया पसल गर्दै आएका २० वर्षीय सुरज पाण्डेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।

मृतकको आँखामा गोली लागेको जनाएपनि उनी भारतीय वा नेपाली कुन देशका नागरिक हुन् भन्ने बारेमा स्पष्ट भएको छैन ।

स्थानीय प्रशासनले अवस्थालाई नियन्त्रणमा लिन कात्तिक १४ गते बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पुर्वतर्फ ३ सय मिटर भित्र कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आदेशको अवज्ञा गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत जनाइएको छ ।

शवको पोष्टमार्टम हुन सकेको छैन । शवलाई कृष्णनगर नपा–२ स्थित नेपाल भारत सिमा नजिक राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो