INSEC Online

📅 २०८३ जेष्ठ २१

पुल नहुँदा स्थानीयलाई समस्या, १० वर्षमा सात जनाको मृत्यू

बाजुरा जिल्लाको सर्वाधिक बिकट हिमाली गाउँपालिकाको छिन्दु नदीमा पुल नहुँदा बर्सेनी स्थानीय बेपत्ता र मृत्यु हुने गरेको छ ।

हिमाली गाँउपालिका–३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु खोलामा १० वर्षमा सात जनाको मृत्यू भएको स्थानीय लालु कुबर भोटेले बताए ।

छिन्दु नदी तरेर हिमाली गाँउपालिका–३ गुम्बा गाउँ र हिमाली क्षेत्रमा जाने गर्छन् । १० वर्ष यता मात्र आपूmलाई जानकारी भए अनुसार सात जना बगेर मृत्यू भएको हिमाली गाउँपालिका–३ का वडा सदस्य जगत लामाले बताए ।

बगेर मृत्यू हुनेमा गुम्बाका छन्देब लामा, फुली गुरूङ्ग, लुलु गुरूङ्ग, फुलमाया कुवर र गुराउसे लामा रहेका छन्, भने दुई जना हुम्ला जिल्लाका हुन् । उनीहरूको नाम भने आफूलाई थाहा नभएको लामाले बताए ।

‘उनीहरू त नदी तर्ने बेला बगेर मृत्यु भएको जानकारी छ । नत्र यो बाटो भएर भेडा, बाख्रा, चौपाया लिएर धेरै जान्छन् । अरूको पनि मृत्यु भएको हुन सक्छ ।’–लालु कुँवरले बताए ।

मानिस मात्र नभई पशु चौपाया त बर्सेनी धेरै बगाएर मर्ने गरेका छन् । नदीमा पुल भएको भए यसरी ज्यान जाने थिएन ।

‘निकै बिकट भएकाले कसैले सुनिदिँदैन् । बाध्य भएर आवतजावत गर्ने गरेका छौँ । बाध्यताले ज्यान जाने गरेको हो ।’–स्थानीय फुलमती गुरूङले बताइन् ।

छिन्दु खोला र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर पनि स्थानीय वारपार गर्ने गरेको स्थानीयले वताएका छन् ।

बाजुराको बिकट गुम्बा गाउँ जान गुम्बा खोला र छिन्दु खोलामा चार ठाउँ तर्नु पर्ने हुन्छ । हिउँदमा त काठे पुल हालेर जोखिमपूर्ण यात्रा गर्ने भएपनि वर्षको चार महिना आवतजावत नै बन्द हुने गरेको स्थानीयले बताएका छन् ।

सानासाना त धेरै खोला तर्नु पर्ने भए पनि विशेष गरी दुई नदीमा झुलङ्गे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन् ।

नदी ठुलो भएकाले हिउँदको समयमा पनि नदी तर्न सकिँदैन । गुम्बा गाँउमा २६ परिवार बसोबास गर्ने गरेका छन् ।

हिमाली गाउँपालिका बौडीदेखि गुम्बा पुग्न एक दिनको पैदल यात्रा पर्छ ।  दुवै नदीमा झुलङ्गे पुल नहुँदा कष्टकर तरिकाले नदी तर्ने गरेको वडा सदस्य जगत लामाले बताए ।

नदीमा झुलङ्गे पुल नभएर बाटो पनि अप्ठयारो भएकाले गुम्वाबाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जानका लागि जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ ।

वर्षातका चार महिना त गुम्बा गाउँ र बाजुराका अन्य स्थानीय तह तथा जिल्ला सदरमुकामसँगको सम्पर्क विच्छेद नै हुने गरेको छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले गुम्बाका स्थानीयले धेरै समस्या भोगेको बताए । ‘सानासाना धेरै खोलाहरू छन् झोलुङ्गे पुलको लागि पहल  गरिरहेको र गाउँपालिककाबाट सक्दो प्रयास गरिरहेका छौँ ।’–उनले भने ।

सर्वाधिक विकट भएकोले लगानी धेरै लाग्ने भएकाले गाउँपालिकाको बजेटले नभ्याउने भएपछि माथिल्लो निकाएसँग पहल गरिरहेको मल्लले बताए ।

अन्य

भिडियो