सर्वोच्च अदालतले आठ वर्ष पछि बैतडीकी एक बालिकालाई बलात्कार गरेको कसुरमा सागर भट्ट र अमर अवस्थीलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै भट्ट र अवस्थीलाई कात्तिक ७ गते कसुर ठहर गरेको हो ।
पीडित बोहोराको तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालका अनुसार उनीहरूलाई पीडितको उमेरका आधारमा सजाय तोकिने र बढीमा एक महिना भित्र सोको टुङगो लाग्नेछ ।
सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले उनीहरूलाई दुई वर्षअघि बनेको मुलुकी संहिताले कसूर कायम गरेपछि अर्को पटकमात्र सजाय निर्धारण गर्ने व्यवस्था अनुसार उनीहरूलाई यसपटक सजाय नतोकिएको जानकारी दिए । उनले अर्को पटकको पेसीमा उनीहरूलाई सजाय तोकिने बताए ।
यसअघि जिल्ला अदालत, बैतडीले उनीहरूलाई बलात्कार गरेकोमा जनही आठ वर्ष, सामूहिक बलात्कार गरेकोमा थप पाँच वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने सुनाएको थियो ।
२०६८ चैत ७ गते एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजार पुगेकी बालिकालाई गेसपेपर किन्न एक पसलमा गएका बेलामा आरोपितद्वयले बलात्कार गरेको आरोप थियो ।