INSEC Online

📅 २०८३ जेष्ठ २१

एक महिनादेखि बबिया स्वास्थ्य चौकीमा औषधि अभाव

सामान्यतया गाउँपालिका भन्दा नगरपालिकामा बढी विकास भएको मानिन्छ तर सुनसरी सदरमुकाम समेत रहेको इनरूवा नगरपालिकाको स्वास्थ्य चौकीमा निःशुल्क भनिएको औषधि अभाव भएको छ ।

असोज पहिलो हप्तादेखि नै कात्तिक ७ गतेसम्म स्वास्थ्य चौकी बबियामा तोकिएको भन्दा आधा पनि औषधि नभएको अवस्था रहेको स्वास्थ्य चौकीकी अनमी शारदा सिग्देलले जनाकारी दिए ।

उनले नगरपालिका भन्ने बित्तिकै सञ्चार, स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी र विद्युतलगायत पूर्वाधार पुगेको ठाउँ आम नागरिकको बुझाई भएपनि व्यवहार यर्थातमा त्यसतो नहुँदा स्वास्थ्यकर्मीहरूलाई काम गर्न समस्या भएको बताए ।

नगरपालिकाको स्वास्थ्य चौकी बबियामा सरकारले निःशुल्क उपलब्ध गराएको औषधि समेत अभाव देखिएको सिग्देलले बताए ।

नेपाल सरकारले सम्पूर्ण सरकारी स्वास्थ्य चौकीबाट ३५ र डाइबिटिजसहितका गरी ४० प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउने भनिएकोमा अति आवश्यक औषधिको अभाव रहेको पाइएको छ ।

सरकारले तत्कालिन जिल्ला स्वास्थ्य कार्यालय हुँदा पर्याप्त र आवश्यक औषधि नियमित पठाएकोमा हाल ४० प्रकारको औषधि उपलब्ध गर्ने भनेर घोषणा गरेको भएपनि नियमित नपठाउँदा अभाव रहेको बबिया स्वास्थ्य चौकी प्रमुख सन्तोष देवले जानकारी दिए ।

सेवाग्राही रतिलाल शर्माले गाउँको स्वास्थ्य चौकी नगरपालिकामा परिणत भएको तर बबिया स्वास्थ्य चौकीमा औषधि अभाव कायम रहेको देखिएको गुनासो गरे ।

निःशुल्क औषधि उपचार पाउने अपेक्षा सहित स्वास्थ्य चौकी पुगेका बिरामीहरूले सिटामोल मात्र पाउँछन् र अरू औषधि नजिकको निजी औषधि पसलमा महङ्गो शुल्क तिरेर खरिद गर्न बाध्य रहेको शर्माको भनाई छ ।

सुनसरीको इनरूवा नगरपालिका–९ निवासी विष्णु यादवले सामान्य ज्वोरो आएपछि गाउँको वडामै रहेको स्वास्थ्य चौकीमा औषधि लिन भनी गएको तर चौकीले हातमा पुर्जी र सिटामोल मात्रै थमाउँदै अरू औषधि छैन भनी पठाएपछि निरास हँुदै एक्लै गुनगुनाउँदै फर्किनु परेको बताए ।

स्वास्थ्य चौकीका प्रमुख सन्तोष देवका अनुसार दैनिक २० देखि ५० जनासम्म सेवाग्राहीहरू स्वास्थ्य चौकीमा आउने गरेका छन् तर औषधि अभावसँगै सेवाग्राहीहरूलाई चाहेर पनि सबै औषधि दिन नसक्दा रित्तो हात फर्कन बाध्य हुने गरेको प्रतिकृया दिए । पटकपटक इनरूवा नगरपालिका र स्वास्थ्य शाखा लगायत सम्बन्धित निकायमा औषधि अभावको जानकारी सहित मौखिक र केही पत्र पठाउँदा पनि बेवास्ता गरेपछि अहिले औषधि अभाव भएको देवको भनाई छ ।

यस स्वास्थ्य चौकीमा हाल सामान्य ज्वरो आएको बिरामीले सेवन गर्ने सिटामोल, रूघाखोकीको औषधि र परिवार नियोजनका औषधिहरू पनि न्युन मात्रामा छ ।

औषधि लिन आउने सेवाग्राहीहरूलाई स्वास्थ्य चौकीका प्रमुख देवले सिटामोल मात्रै दिएर फर्काउने रहर नभएर बाध्यता भएको बताए ।

काटेपछि बग्ने रगत थाम्नका लागि हतारमा स्वास्थ्य चौकी पुग्ने सेवाग्राहीहरू डिटोलको अभावका कारणले फर्किने, सिरफ, आँखा, खान, छाला, पेट, ग्यास्ट्रिक, सुगर, एलर्जीलगायतका नहुँदा चौकीमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई समेत काम गर्न समस्या रहेका स्वास्थ्य चौकीका प्रमुख देवको भनाई छ ।

६ महिना यता स्वास्थ्य चौकीमा अति आवश्यक औषधिहरू पर्याप्त नभएको र केही औषधि शुन्यको अवस्थामा पनि नआएको स्वास्थ्य चौकीको दावी छ ।

औषधि लिन आउनेहरूलाई लेखेको औषधि दिननसक्दा बाझाबाझ गर्नुपर्ने अवस्थाको समाना गरिहेको अनमी सरिता पाण्डेले बताइन् ।

इनरूवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिश्रीलाल मेहताले औषधि अभाव नभएको दावी गरेका छन् ।

केही औषधि पठाउन र चौकीले लान ढिलाई गरेको बाहेक निःशुल्क बाँढ्ने कुनैपनि औषधिको अभाव नहरेको र केही अभाव देखिए परिपुर्ति तत्काल गर्ने उनको भनाई छ ।

अन्य

भिडियो