INSEC Online

📅 २०८३ जेष्ठ २२

पर्वमा जोहोको चिन्ता, गर्भवति र सुत्केरी समेत ढुङ्गाखानीमा

ढुङ्गाखानीको छेउमा बाँसको किलामा पछौराको झलुङ्गो । त्यहि झलुङ्गोमा आरती बिकले एक वर्षको छोरो बनाइन् । सुत्केरी भएको नौ महिनाबाटै आरती ढुङ्गाखानी आउँथिन् । तम्घासको आर्दशचोकमा बस्दै आएकी बिक बिहान ९ बजेदेखि साँझ अबेरसम्म ढुङ्गाखानीमै भेटिन्छिन् ।

‘घरमा बुढा सासूससुरा श्रीमान पनि मजदुरीनै गर्छन् ।’–उनले भनिन्–‘बाध्यताले सँगै ल्याएर महिनौ बिताएँ ।’ उनले दिनभर छोरालाई काखमा राखेरै गिट्टी कुट्दै आएकी छन्् । एक दिनमा छोराले काम गर्न दिए पाँचदेखि सात बोरा गिट्टी कुट्ने बिकको भनाई छ ।

रेसुङ्गा नगरपालिका–७ को बाउले खोला । त्यतिकै पनि डर लाग्ने छ । त्यहि खोलामा आरतीले बच्चा हुर्काउँदै आएकी छन् । उनले बिहान साँझको चिसो, दिउँसोको घाम र धुलोले पटकपटक बच्चा बिरामी परे रहर नभएको गुनासो पोखिन् । आरतीले बाह्रै महिना ढुङ्गाखानीमै बिताउनेहरुको तीज, दशैँ र तिहारले केही फरक नपार्ने बताइन् ।

शोककोभन्दा भोकको चिन्ता
सोही ढुङ्गाखानीमा २८ वर्षीय कमला बिकले काम गर्न थालेका थुप्रै समय भयो । अहिले गर्भवति छन् । मिठो–मसिनो परैको कुरा । घाम झुल्केदेखि आराम छैन । ढुङ्गासँग पैँठेजोरी नखेले अगेनो बल्दैन । पहिलेका तीन सन्तान तीनदेखि सात महिनामा खेर गएको कमलाले बताइन् । ‘काम नगरे हातमुख कसरी जोर्ने, बाध्यताले जोखिम मोलेकी छु ।’–कमलाले भनिन–‘पहिले तीन सन्तान गुमाएँ । अहिले पनि डर लागेको छ ।’

उनका पति रामु बिकले पनि सदरमुकाममै मजदुरी गर्छन् । अहिले तिहारले गाउँ र शहर झलमल्ल भएका छन् । तर गिट्टी कुटेर छाक टार्ने विपन्न परिवारलाई भने जोहोकै पिरलो रहेको छ ।

गाउँमा रोटी बसाउँदा आँखा रसाउँछन्
पशुपति परियार ५५ वर्षकी भइन् । २५ वर्ष भए ढुङ्गाको काम गर्न थालेको । उनी सदरमुकाम वरपरका ओढार र सडक छेउमा भेटिन्छन् । ढुङ्गा कुटेरै पशुपतिले दुई छोरा हुर्काइन् । उनीहरू अहिले बिहे गररे आफ्नै काम गर्दै छन् । पशुपनि पतिसँगै बागमारे बस्दै आएकी छन् । पति प्यारालाइसको बिरामी छुन् । नौ वर्षदेखि काम गर्न नसक्ने भएपछि त्यो बोझको भारी पनि पशुपतिकै थाप्लोमा छ । ‘गरिव ढुङ्गाखानीबाट उक्लिएनन् । राज्यले केही गरेन ।’–उनले भनिन् । पशुपतिलाई पनि तिहारले छोएको छैन । उनले गाउँमा तिहार आएर रोटी पकाउँदा आँखा रसाउने बताइन् । हात नचले मुख नचल्ने भएकाले आफुहरूलाई चाडपर्वको त्यति मतलब नहुने पशुपतिले बताइन् । उनले एक सातामा एक ट्याक्टर गिट्टी पुर्‍याउँछिन् । त्यसको मुल्य ४ हजार रुपियाँ पर्छ । उनीहरूले समूहमा कुटेका गिट्टी निर्माण व्यावसायीले खरिद गर्ने गरेका छन् ।

photo20191025gulmi2

photo20191025gulmi

अन्य

भिडियो