INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामी समस्यामा

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि डाक्टरविहीन हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

संस्थामा कार्यरत डा. गणेश चौधरी समायोजन भएर गएपछि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र आफूले सञ्चालन गर्नु परेको अहेव लोकेन्द्र न्यौपानेले बताए ।

उनले भने–‘डाक्टर सरूवा भएर गए । नयाँ आउने कुनै ठेगान छैन् । अहिले आफुले संस्था चलाइरहेको छु । स्वास्थ्य केन्द्रमा दैनिक ८० देखि १ सयसम्म बिरामी उपचारमा आउने गरेका छन् । डाक्टर नहुँदा बिरामीहरूले समस्या झेल्नु परेको छ ।’

हिमाली गाँउपालिका–२ रूम्दीका धर्मलाल खड्कालले पत्नी रिमकला खडका बिरामी भएर उपचारका लागि स्वास्थ्य केन्द्र पुर्‍याउँदा डाक्टर नभएका कारण स्वास्थ्य उपचार हुन नसकेको दुखेसो पोखे ।

उनले भने–‘पत्नीको उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याए । कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा अहेबले जेनतेन उपचार त गरे । तर, न रोग पत्ता लाग्यो न त बिरामी नै निको भयो । जिल्ला बाहिर सुविधा सम्पन्न ठाउँमा लैजान पैसा छैन ।’

उपचारका लागि बिरामी आउने गरेका भए पनि डाक्टर नभएकै कारण नेपालगञ्ज, मार्तडी रिफर गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख लोकेन्द्र न्यौपानेले बताए ।

उनले भने–‘स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी समेत छैनन् । एक जना डाक्टरको दरबन्दी रहेकोमा त्यो पनि रिक्त रहेको छ । तीन जना अहेबको दरबन्दी भए पनि एक जना मात्र कार्यरत रहेका छन् ।

तीन जना अनमीमध्ये दुई जना मात्रै कार्यरत रहेका छन् । ‘बिरामीको चाप निकै रहेकोले उपचार गर्न निकै धौ धौ भएको छ ।’–न्यौपानेले भने ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र, बाजुराको उत्तरी क्षेत्रका चार ओटा स्थानीय तह क्रमशः बुढिनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र कार्णाली प्रदेशका हुम्ला, कालिकोट र मुगुका बिरामी सेवा लिन आउने भए पनि डाक्टर र स्वास्थ्यकर्मीको अभावका कारण उपचारका लागि महङ्गो हवाई भाडा तिरेर नेपालगञ्ज जानु परेको बुढिनन्दा नगरपालिका–१ का अध्यक्ष नृपराज खत्रीले बताए ।

लामो समयदेखि डाक्टरविहीन अवस्थामा रहेको स्वास्थ्य केन्द्रमा सरकार बेखबर रहेको नागरिक समाजका अगुवा गणेश भण्डारी बताउँछन् ।

स्वास्थ्य केन्द्रमा डाक्टर नभएकै कारण पोष्टमार्टम गर्नु परेमा समेत जिल्ला अस्पताल जानु पर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो रहेको छ ।

जिल्ला अस्पताल, बाजुराका प्रमुख डा.रूपचन्द्र विश्वकर्माले स्वास्थ्य केन्द्रमा चिकित्सक ल्याउने प्रयास भइरहेको भए पनि समायोजनका कारण व्यवस्थापनमा समस्या भएको बताए ।

बुढिनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर डाक्टर ल्याउने पहल भइरहेको बताइन् ।

अन्य

भिडियो