INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनर्स्थापनामा ढिलाई भएपछि जोखिम मोलेरै घर फर्कन थाले पहिरो पीडित

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेक पहिरो पीडितको पुनर्स्थापना गर्न ढिला भएपछि जोखिम मोलेरै घर फर्किन थालेका छन् ।

लुम्पेकको सिङ्दीमा अहिलेसम्म पहिरो रोकिएको छैन । वर्षा रोकिएपछि पनि सुख्खा पहिरोले पछिल्लो एक महिनामा एक दर्जन घर गोठ बगे । सो वडाका वडा सदस्य अर्जुन तरामुका अनुसार भर्खरै पनि खुमबहादुर तरामुको घर सुख्खा पहिरोले बगाएको छ ।

उनले सोही स्थानका टीका रानासहितका करिव दुई दर्जन घर परिवार अहिले पनि विस्थापित नै रहेका छन् ।

तरामुले दैनिक गोठ ढल्ने, आँगन झर्ने, घर कोल्टे पर्ने भइरहेकाले ठुलोलुम्पेकमा विपत अझै नरोकिएको बताए ।

सत्यवति गाउँपालिका–३ को ठुलोलुम्पेकमा पहिरोका कारण करिव ३ सय घरपरिवार विस्थापित भएका थिए ।

वर्षा रोकिँदै गएपछि पुर्ण विस्थापित ७० घर परिवारलाई अस्थायी शिविरमा बस्दै आएका थिए । अहिले सात-आठ घर बाहेक सबै गाउँमै फर्किएको स्थानीय अगुवा जितु तरामुले बताए ।

गत साउन ६ गते पहिरोले सिङ्दीकी नीमकुमारी सिञ्जालीको घर गोठसँगै पशुचौपाय बगायो । ज्यान भने सबैले जोगाए ।

शिविरमा त्रिपालले धेरै बिरामी भएपछि अहिले पानी बसेकाले छिमेकीकोमा बसेको सिञ्जालीले बताइन् । जाडो सुरू हुन थाल्दा समेत पुनर्स्थापनाको काम नभएपछि आफ्नो बाटो गर्न थालेको गुनासो गरिन् ।

पहिरो गएकै भोलिपल्ट प्रभावित क्षेत्रमा पुगेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एकीकृत वस्ती निर्माणको कुरा उठाए ।

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिरो प्रभावितको पुनर्स्थापनाको जिम्मा प्रदेश सरकारले लिने घोषणा गरे ।

पहिरो प्रभावित क्षेत्रकै सांसद तथा सामाजिक विकास मन्त्री सुर्दशन बरालले पनि पटक–पटक एकीकृत वस्ती निर्माणको कुरा गरिरहेका छन् ।

स्थानीय सरकारले पनि सबै शक्ति र स्रोत पहिरो प्रभावितकै लागि दिएकै जस्तो गरिरहेको छ । तर, पुनर्स्थापनाको कामले गति लिएको छैन ।

पहिरो प्रभावितहरू जोखिमकै बीच गाउँ फर्कन थाले । ‘एकीकृत बस्ती निर्माणको लागि प्रदेशले जग्गा माग गरकाले समय लागेको हो ।’–सत्यवति गाउँपालिका–३ का वडाध्यक्ष रूकबहादुर रानाले भने–‘प्रदेशले मागे अनुसार जग्गा उपलब्ध भएको छैन ।’

जग्गा उपलब्ध हुने बित्तिकै पुनर्स्थापनाको काम प्रदेशले गर्ने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले आउने असारसम्म पूर्ण घरबार विहीन भएकाहरूलाई घर दिने बताए ।

प्रदेशले विस्थापित अरू परिवारको व्यावस्थापन गरे पनि आफुहरूले पूर्ण क्षतिमा परेका परिवारलाई घर बनाउने उनको भनाई छ ।

ढकालले स्वदेश तथा विदेशमा रहेका विभिन्न संघ-संस्थाबाट करिव २ करोड रुपियाँ सङ्कलन भएकाले तत्काल पूर्ण क्षति भएका परिवारको विषयमा गाउँपालिका गम्भीर भएको बताए ।

‘खर्चका दृष्टिले प्रदेशको योजना धेरै परिवार लाभाम्बित हुने खालको हो ।’–उनले भने–‘तत्काल घर नै नभएको विषयमा सोच्नुपर्नेछ ।’

गत ६ असारका पहिरोका कारण लुम्पेकका झण्डै तीन सय परिवार विस्थापित भए । झण्डै एक महिना विस्थापित विद्यालयमै बसे ।

ठुलोलुम्पेकको सात स्थानमा अस्थायी शिविर सञ्चालन गरेर विस्थापितको गासबासको व्यवस्था भएको थियो ।

अन्य

भिडियो