INSEC Online

📅 २०८३ जेष्ठ २२

सार्वजानिक यातायातमा छुट नपाएको ज्येष्ठ नागरिकको गुनासो, दुई व्यवसायीलाई मुद्दा दर्ता

सार्वजानिक यातायातमा ज्येष्ठ नागरिकले छुट पाउने व्यवस्था भए पनि खोटाङका ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् ।

सार्वजानिक यातायातका साधन प्रयोग गर्दा जिल्लाका ज्येष्ठ नागरिकहरूले अझै पनि छुट पाउन नसकेको ज्येष्ठ नागरिक समाजका अध्यक्ष दुर्गाप्रसाद घिमिरे बताए ।

सहुलियत नपाएको विषयमा जिल्ला प्रशासन लगायत सम्बन्धित निकायमा पटकपटक कुरा उठाउँदा समेत अझै छुट पाउन नसकेको समाजका अध्यक्ष घिमिरेको भनाई छ ।

खोटाङ यातायात प्रालिका काउण्टर इञ्चार्ज धनिराम राईका अनुसार एउटा बसमा एक जना ज्येष्ठ  नागरिकका लागि भने छुटको व्यवस्था गर्न सकिने छ ।

कतिपय ज्येष्ठ नागरिकलाई सो व्यवस्थाबारे जानकारी नहुँँदा पनि सुविधावाट वञ्चित हुनुपरेको जनाइएको छ ।

ज्येष्ठ नागरिक कल्याण ऐन अनुसार सार्वजनिक यातायातमा ५० प्रतिशत छुट सुविधाको व्यावस्था छ ।

यसैबीच, यात्रुबाट बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका २७ वर्षीय तेञ्जी शेर्पा र ३० वर्षीय फुर्वा शेर्पालाई असोज २७ गते गिरफ्तार गरी सोही दिन मुद्दा दायर गरिएको छ ।

खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही १ हजार ४ सय ५० रुपियाँ लिनुपर्नेमा २ हजार लिएको गुनासो आएपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरूलाई गिरफ्तार गरी सोही दिन मुद्दा दर्ता गरिएको हो ।

उनीहरूलाई १० दिनको म्याद थप गरेर कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वामदेव गौतमले बताए ।

कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा रू १० लाख रुपियाँसम्म जरिबाना गर्न सकिने कानुनी प्रावधान छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो ।

अन्य

भिडियो