INSEC Online

📅 २०८३ जेष्ठ २२

बैङ्कको ढिलाइले सामाजिक सुरक्षा भत्ता पाउनमा ढिलाई

बैङ्कको ढिलाइले ढकारी गाउँपालिकामा लक्षित वर्गले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एक महिला लगायतले दशैँ अगाडि नै समाजिक सुरक्षा भत्ता पाउनु पर्ने भएपनि ढकारीस्थित सिटिजन्स बैङ्कको आन्तरिक व्यवस्थापनका कारणले ६ हजार भन्दा बढी लाभग्राहीले भत्ता पाउन सकेका छैनन् ।

६ हजार भन्दा बढी ज्येष्ठ नागरिक र एकल महिला सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् । ढकारी गाउँपालिका–२ का ज्येष्ठ नागरिक धर्मराज शाहीले गाउँपालिका र बैङ्कका कारण ज्येष्ठ नागरिक, एकल महिला र बाल पोषण भत्ता सम्बन्धित व्यक्तिले पाउन नसकेको बताउँछन् । ‘साउनदेखि यताको सामाजिक सुरक्षाभत्ता कसैले पाएका छैनन् ।’–शाहीले भने ।

गाउँकार्यपालिका सदस्य तथा वडा नम्बर ३ मा अध्यक्ष महादेव बुढाले असोज १२ गतेको गाउँपालिकाको बैठकमै चाँडो सुरक्षा भत्ता वितरण गर्नुपर्ने छलफल भएपनि हालसम्म लाभग्राहीले नपाएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओलीले दशैँभन्दा अगाडि नै सामाजिक सुरक्षा भत्ता बैङ्कलाई निकासा गरिसकेको भएपनि बैङ्कको ढिलाइका कारण भत्ता पाउन नसकेको हुनसक्ने बताए ।

ज्येष्ठ नागरिक, बाल पोषणा भत्ता र अपाङ्गता भत्ता पाउनेको खाता खोलेर भत्ता बाँड्ने प्रक्रियामा रहेको ढकारीस्थित सिटिजन्स बैङ्कले जनाएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूको हकमा सम्बन्धित व्यक्ति र दलित बालबालिकाको हकमा अभिभावकको नाममा खाता खोल्नुपर्नेछ ।

भत्ता लिन बैङ्किङ प्रणाली सुरू भएपछि उक्त गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ वडाका ज्येष्ठ नागरिक, अपाङ्गलाई गाउँपालिकामा रहेको बैङ्कमै पुग्न घण्टौँ समय पैदल हिँड्नु पर्दछ । बैङ्कमा पुगेर आफ्नो भत्ता लिनमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई निकै सास्ती हुने गरेको छ ।

अन्य

भिडियो