जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको मृत्यु भएको घटनाका विषयमा अनुसन्धान अघि बढाउन परमादेश भएको दुई वर्ष बितिसक्दा समेत अदालतको आदेश कार्यान्वयन नभएको पीडित परिवारले आरोप लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएकै अवस्थामा दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १८ वर्षीय किरण राई ‘भुदेउ’को ०७० असार २६ गते मृत्यु भएको थियो ।
सो घटनामा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ०७४ साल भदौ १५ गते अनुसन्धान प्रक्रिया अघि बढाउन विपक्षी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी गरेपनि हालसम्म कुनै कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडितका आफन्त र स्थानीयले आवाज उठाएका छन् ।
पत्रकार भीम राईले अदालतको परमादेश अनुसार प्रहरीले दोषी उपर कारबाही अघि नबढाउँदा पीडित पक्षले मानव अधिकार प्रत्याभूत गर्न नसकेको बताए ।
ज्यान मारेको अभियोगमा ०७० साल जेठ २८ गते गिरफ्तारीमा परेपछि हिरासतमा राखिएका भुदेउको हिरासतमै मृत्यु भएको थियो ।
थुनुवा भुदेउको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन डिएसपी राजीव बस्नेत, इन्स्पेक्टर रमेश देवलगायत ११ जना प्रहरी विरूद्घ कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो ।
आयोगले घटनामा संलग्न डिएसपी बस्नेत र इन्स्पेक्टर देवलाई विभागीय कारबाही गर्न तथा सईहरू महेन्द्र खत्री, मुकुन्दप्रसाद विडारी, हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यान सम्वन्धी महल बमोजिम कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समक्ष ०७० भदौ १९ गते सिफारिस गरेको थियो ।
अस्थायी इजलास ओखलढुङ्गाको परमादेशले आयोगको निर्णय र सिफारिसलाई सदर गरेको भए पनि न्याय नपाएको मृतकका आफन्त रञ्जीव राईले बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले भने घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जवाफ दिएका छन् ।