राजविराज नपा–५ स्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत १४ वर्षीय सुमितकुमार भगतलाई होस्टल वार्डेन २७ वर्षीय चन्दनकुमार झाले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितका ४६ वर्षीय बाबु सदानन्द भगतले जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते उजुरी दिएका छन् ।
दशैँ विदापश्चात विद्यालय सञ्चालनमा आएको पहिलो दिन असोज २७ गते होस्टलमा बस्न मन नलागेर विद्यालयको बस चढी घर जान खोजेपछि आरोपितले प्लाष्टिकको पाइपले निर्घात कुटपिट गरेको पीडितले बताए ।
कुटपिटबाट लागेको चोटले उनको पिठ्युँभरी निलडाम छ । पीडितका अनुसार भदौपछि आरोपित वार्डेनले यसैगरी तीन पटक कुटपिट गरेका थिए । पीडित विगत ६ महिनादेखि विद्यालयको होस्टलमा बसेर अध्ययनरत छन् ।
विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल नरेशप्रताप साहले अध्ययनप्रति रुची नभएका पीडितलाई सुधार्नका लागि उनका अभिभावकले नै वार्डेनलाई सजाय दिन उत्प्रेरित गर्ने गरेकोले घटना भएको बताए ।
होस्टलमा बस्न नचाहेर सधैँ घर जान खोज्ने पीडित घर जानका लागि बसमा लुकेपछि वार्डेनले सामान्य सजाय दिएको प्रिन्सिपल साहले स्वीकार गरे ।
घटनाको विषयमा पीडितका बुबाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि प्रहरीले चासो नलिएको भन्दै गुनासो गरे ।