INSEC Online

📅 २०८३ जेष्ठ २२

कारगारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

गुल्मी कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारगारमा ८३ जना कैदीबन्दी रहेका छन् ।

‘घ’ श्रेणीको जिल्ला कारागारमा पाँच महिला र २० पुरुष गरी २५ जनाको क्षमता छ । कारागारमा पुरूष ५० कैदी र थुनुवा २८, महिला कैदी तीन र थुनुवा एक जना रहेका छन् ।

Photo20191015Gulmi

कारागारका सूचना अधिकारी प्रभात मल्लिकका अनुसार कारागारमा एक जना आश्रित बालिका समेत छिन् ।

‘गल्लीमा समेत सुत्छौँ । शौचालय र पानीको उस्तै समस्या छ ।’-बलात्कार मुद्दामा बन्दी इस्मा गाउँपालिका-५ का धनबहादुर चुँदाराले भने-‘कारागार र खोर उस्तै भए । भेडाबाख्रा जस्तै बसेका छौँ ।’

कारागारका ८३ जनामध्ये सबैभन्दा धेरै बलात्कार मुद्दाका २४ कैदी र १७ बन्दी पुरुष कारागारमा छन् । त्यसपछि कर्तव्य ज्यान मुद्दाका १५ कैदी, एक बन्दी र तीन महिला कैदी लगायत रहेको सूचना अधिकारी मल्लिकले बताए ।

कारागारमा वर्षौँदेखि खानेपानीको समस्या भएका कारण थप समस्या देखिएको छ । कैदीबन्दी ८३, सुरक्षाकर्मी र कारागारका कर्मचारी गरेर १ सयभन्दा बढीलाई दैनिक खानेपानी आवश्यक भएपनि सहज आपुर्ति नभएको कारागार प्रमुख अर्जुन ध्वज जिसीले बताए ।

कारागारमा रेसुङ्गा मुलको पानी आउने गरेको छ । यहि मुलको पानी गुल्मी कारागार, गुल्मी अस्पताल र नेकपा कार्यालयमा वितरण गरिएको छ ।

जसका कारण पनि पर्याप्त खानेपानी नभएको थापाले बताए । उनले गएको हिउँदमा ट्याङरबाट समेत पानी ल्याएर खुवाउनु परेको बताए ।

पर्याप्त खानेपानी नभएका कारण कारागारमा खाना पकाउन, खान, लुगा धुन, शौचालय प्रयोग गर्न लगायतका काम गर्न कठिनाई परेको कर्तव्य ज्यान मुद्दाका कैदी लेखनाथ गिरीले बताए ।

उनले धेरै जनसङ्ख्या, सानो मुल र सङ्कलन गर्ने कुनै ट्याङ्की नभएका कारण वर्षौँदेखि खानेपानी समस्या रहेको बताए ।

कारगारमा कर्मचारी अभाव १० जना दरबन्दी दुई जना कार्यरत

कारागारमा कर्मचारी अभाव देखिएको छ । कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् ।

कारागारमा एक कार्यालय प्रमुख, एक सुब्बा, एक खरिदार, एक सह-लेखापाल, एक अहेव, एक कम्प्युटर अपरेटर तथा चार जना कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ ।

तर, अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र कारागारमा रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लिकले बताए । कारागारले चार जना करारका कार्यालय सहयोगी राखेको छ ।

कर्मचारी अभावका कारण सामान्य स्वास्थ्य उपचारका लागि पनि अस्पताल पुग्नुपर्छ । कारागारमा अहेव पद वर्षौँदेखि रिक्त छ ।

दैनिक एक जना कर्मचारी र सुरक्षाकर्मी उपचारकै लागि अस्पताल पुग्न ठिक्क हुने कारागार प्रमुख अर्जुनध्वज थापाले बताए ।

मुटु र दम लगायतका रोगको लामो समय औषधि सेवन गर्ने र छिटो-छिटो उपचार गराउनुपर्ने पाँच जना कैदीबन्दी छन् ।

त्योसँगै कैदीबन्दीको खानपान र अन्य व्यावस्थापनमा आफूहरूलाई थुप्रै समस्या रहेको प्रमुख थापाले बताए ।

‘दुई जना मात्रै कार्यालयमा छौँ । बैठक, तालिम तथा बिरामी परे सहयोगी मात्रै हुने अवस्था आएको छ ।’-थापाले भने-‘पत्र आउँछ कर्मचारी आउँदैनन् ।’

सह-लेखापालको पद पनि रिक्त हुँदा कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट आर्थिक कारोवार हुने गरेको छ ।

उनले सुरक्षा संवेदनशिलताका हिसावले पनि कारागार चुनौतिपूर्ण भएकाले कर्मचारीको दरबन्दी पुरा हुनुपर्ने बताए ।

कारागार उद्यमशिलताका दृष्टिले समेत अब्बल भएकाले उनीहरूलाई आवश्यक सामग्रीहरूको उपलब्धता र विक्री वितरणमा पनि कर्मचारी नभएका कारण समस्या परेको थापाले बताए ।

सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर गुल्मी कारागारमा सिसि टिभि क्यामेरा जडान गरिएको छ । कारागार व्यवस्था विभागको सहयोगमा कारागारमा १० वटा क्यामेरा जडान गरिएको हो ।

कारागारको चौकिल्ला, प्रशासन र कैदीबन्दी बस्ने भवन तथा प्रमुख गेटमा क्यामेरा सेट गरिएको कारागाराका सूचना अधिकारी प्रभात मल्लिकले जानकारी दिए । क्यामेरा जडानसँगै सुरक्षा र कारागार सञ्चालनमा सहजता आएको छ ।

अहिले कैदीबन्दीहरूको गतिविधिहरू कार्यालय प्रमुखले आफ्नै कोठाबाट नियाल्ने गरेका छन् । कार्यालयसँगै कैदीबन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि सिसि टिभि क्यामेराले सहजाता मिलेको मल्लिकले बताए ।

अन्य

भिडियो