INSEC Online

📅 २०८३ जेष्ठ २१

सुरक्षित प्रसूति केन्द्र सञ्चालन नहुँदा गर्भवती महिलालाई समस्या

महाकाली नगरपालिका–९ दत्तु स्वास्थ्य चौकीमा भवन अभावका कारण सुरक्षित प्रसूति केन्द्र सञ्चालन हुन नसक्दा गर्भवती महिलाहरूले समस्या झेल्नु परेको छ ।

सुरक्षित प्रसूति केन्द्र स्थापनाको लागि सामग्री र जनशक्तिको व्यवस्थापन गरिएको भएपनि भवन अभावले सञ्चालनमा आउन नसकेको अनमी गौरी सामन्तले बताइन् ।

उनले भनिन्–‘स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको लागि चाहिने सामग्री छ । तर, अहिलेसम्म भवन अभाव भएका कराण प्रयोगमा आउन सकेको छैन ।’

‘गत वर्षको बजेटमार्फत एक कोठा थप गरिएको छ । सो भवन प्रयोगमा ल्याए मात्रै पनि सुरक्षित प्रसूति केन्द्र सञ्चालनमा आउँछ ।’–उनले भनिन् ।

अहिले स्वास्थ्य चौकीको प्रशासनलाई माथिल्लो तलामा सारेर तल्लो तलामा सुरक्षित प्रसूति केन्द्र बनाउने तयारी भएको छ ।

सडकसँग जोडिएका गाउँका महिलाहरूलाई गर्भवती हुँदा जिल्ला आउन सजिलो भएपनि सडक नपुगेको थाप्लालगायतका बस्तीका महिलाहरूलाई आवतजावतमा समस्या हुने गरेको स्थानीय लीला चैसिरले बताइन् ।

उनले भनिन्–‘दत्तुमा प्रसूति केन्द्र सञ्चालनमा नआएका कारण दार्चुला सदरमुकाम जानुभन्दा भारतीय बजार पुर्‍याउन बाध्य भएका छौँ । गाउँमै सुरक्षित प्रसूति केन्द्र भएको भए गर्भवती महिलालाई समस्या हुने थिएन ।’

अहिलेसम्म भवन अभावले सञ्चालनमा ल्याउन नसकिएको अहेव सुरेश राम दमाईले बताए । ‘बर्थिङ सेन्टरको लागि आएको सामग्री त्यतिकै राखिएको छ । अहिले भवन निर्माण भएको छ । हामी छिट्टै सञ्चालनमा ल्याउने तयारीमा छौँ ।’–उनले भने ।

दत्तुमा सुरक्षित प्रसूति केन्द्र नहुँदा गर्भवती महिलाहरूले सदरमुकाम खलङ्गा आउनु पर्ने बाध्यता रहेको अनमी पार्वती जोशीले सुनाइन् ।

उनले भनिन्–‘दुई जना अनमी छौँ । सुरक्षित प्रसूति केन्द्र सञ्चालन नहुँदा महिनामा ५÷६ जना महिला सुत्केरीका लागि जिल्ला अस्पताल पठाउनु परेको छ ।’

भवन निर्माणको लागि वडा कार्यालय दत्तुले ६ लाख ५० हजार रुपियाँ छुट्याएको वडा अध्यक्ष हरसिंह डागाले जानकारी दिए ।

गुड नेभर इन्टरनेशनल नामक गैरसरकारी संस्थाको सहयोगी संस्था सङ्कल्प दार्चुलामार्फत दत्तु स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति केन्द्र स्थापनाको लागि सामग्री सहयोग भएको छ ।

अन्य

भिडियो